लुम्बिनी प्रदेश सरकारले विश्वासको मत पाउन सकेन

Share Icon

११ वैशाख,लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा आवश्यक मत पाउन सक्नुभएन ।

सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गर्नुभएको छ । उहाँलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत माग्नुभएको हो ।

मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसद्लाई जानकारी गराउनुभयो ।प्रदेशसभामा नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन÷तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले सङ्घीयता कार्यान्वयनका लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको सय दिनको अवधिमा लुम्बिनी प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

उहाँले सङ्घीयता कार्यान्वयनका लागि थप आधार पनि निर्माण गरेकोसमेत बताउनुभयो । मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मूल उद्देश्य पूरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको बताउनुभयो ।

उहाँ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.