शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी

Share Icon

१० वैशाख,काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ मा पर्ने शान्ति गोरेटोमा मोटर गुड्ने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि उक्त स्थानमा गोरेटो बाटो साँघुरो थियो । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्य हुँदा स्थानीय समस्या भोग्दै आएका थिए ।

त्यसका कारण आवतजावतमा निकै सास्ती थियो । ढल निकासको व्यवस्था पनि थिएन । चालु आर्थिक वर्षमा कामपाको बजेटबाट सडकमा ढलान गर्ने र ढुङ्गा छाप्ने योजनाअन्तर्गत अहिले दुई सय ८३ मिटर सडकमा ढल राखेर ढलान गरिएको छ । कतै अतिक्रमण हटाएर, कतै स्थानीयसँग समन्वय गरेर चौडाइ चारदेखि पाँच मिटरसम्मको बनाइएको छ ।

उपभोक्ताको पाँच प्रतिशत योगदान रहेको कार्यक्रमको सम्झौता रकम रु ५६ लाख ५४ हजार आठ सय ८० रहेको महानगरले जनाएको छ । सडक मर्मतका लागि यही वैशाख ३० गतेसम्मको अवधि दिइएको थियो ।

उपलब्ध गराइएको समयभन्दा अगाडि नै योजना सम्पन्न भएपछि उक्त सडक आजबाट सञ्चालनमा आएको हो । आज सडक सञ्चालनको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य श्रीराम लामिछानेले स्थानीय सरकारको काममा प्रदेशसभाका तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने र सँगै काम गर्ने धारणा राख्नुभयो ।

“सडक निर्माण हुनु जत्तिकै महत्वपूर्ण कुरा भनेको सडकको उपयोग हो र यसलाई दुरुपयोग हुनबाट बचाउनु हो”, वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले भन्नुभयो, “वडाको समग्र एवं दिगो विकासका लागि हामी हाम्रा योजनाको सामाजिक परीक्षण गराउने तयारीमा छौँ, यस्तै दीर्घकालीन योजनाका लागि कार्यशालामार्फत स्थानीय माग र आवश्यकता अध्ययन भइरहेको छ ।”

अब यस स्थानमा आगामी ४० वर्षसम्म वर्षसम्म ढलको समस्या नहुने स्थानीयले विश्वास लिएका छन् । स्थानीय अरुण बस्नेतले सडक निर्माण भएकामा खुसी व्यक्त गर्दै व्यापार व्यवसायलाई असर नहुने गरी सडकमा पार्किङ् निषेध गर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का स्थानीय महेश्वर शर्माले छतबाट सडकमा खस्ने पानीले ढलानको आयु घटाउने भएकाले छतको पानी सडकमा नखस्ने प्रबन्ध मिलाउन सम्बन्धित सबै स्थानीयले ध्यान दिनुपर्ने बताउनुभयो ।

सडक सञ्चालन भएसँगै सडकसँग जोडिएका व्यापारीलाई गुट्खा, परागजस्ता धूमपानजन्य सामग्री नबेच्न, आफ्नो क्षेत्रको सडक आफैँ सफा गर्न, सडकमा जथाभावी फोहर नफाल्न, व्यापार गरिने सटरमा फोहर वर्गीकरण गर्ने भाँडो राख्न, मनपरी पार्किङ्ग नगर्न वडा अध्यक्षले अनुरोध गर्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.