पौवादुङमाका किसानलाई कृषि सामग्री वितरण

Share Icon

३० चैत,भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले ‘कृषकलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी उक्त सामाग्री वितरण गरिएको हो ।

गाउँपालिकाले कृषकसँग आवेदन माग गरी आवेदनका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा रू एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, रू दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र रू १० लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको कृषि शाखा प्रमुख सुदीप मरासैनीले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषकलाई विभिन्न समयमा बीउबिजन, विषादीलगायत आवश्यक प्राविधिक सहयोगसमेत गर्दै आएको उहाँको भनाइ छ । “हामीले किसानको मागका आधारमा तीन सय बढी कृषकलाई सामग्री हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्न सामग्री वितरण गरेका हौँ ।”

किसानले गरिरहेको व्यावसायका आधारमा उनीहरूलाई आवश्यक कृषि सामाग्री तथा प्रविधिक सहयोग गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो ।

तरकारी तथा नगदेबालीमा लागेका किसानलाई कृषि सामग्री र कुखुरा, बाख्रा तथा व्यावसायिक बङ्गुरपालन गर्ने किसानलाई सोही अनुसार आवश्यक सामाग्री वितरण गरिएको उहाँको भनाइ थियो ।

“हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “सुक्खा क्षेत्र भए पनि कृषकको आवश्यकताका आधारमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरी सहयोग गरिरहेका छौँ । यहाँको कृषि उत्पादन बाह्य बजारमा समेत जान थालेको छ ।”

यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ । पालिकालाई कृषिमा नमूना बनाएर यहाँ उत्पादित वस्तुको बजारीकरण गरी किसानलाई आर्थिक रूपमा सक्षम बनाउने योजना बनाएर काम गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

कृषि क्षेत्रको दिगो विकासले मात्र किसानलाई आर्थिकरूपमा सक्षम बनाउन सकिने भन्दै उहाँले पालिका कृषिको योजनाबद्ध विकासमा जुटेको जानकारी दिनुभयो ।

“सिँचाइको अत्यन्तै समस्या छ, किसानलाई सहयोग गरेर प्लाष्टिक पोखरी वितरण गरेका छौँ । सिँचाइको समस्या समाधान भएपछि यहाँको उत्पादन बाह्य बजारमा जाने गरेको छ” अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकाले कृषि सामग्रीका साथै अन्य आवश्यक उपकरण वितरण गरेपछि व्यावसायिक कृषिमा लाग्न सहयोग पुगेको कृषक राजकुमार दर्जीले बताउनुभयो ।

उत्पादन भएको वस्तुलाई बजारीकरणमा गाउँपालिकाले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । पौवादुङमा गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन कृषि सामाग्री वितरण गर्नुका साथै प्रविधिक सहयोग गरेको निकै प्रसंशायोग्य काम भएको कृषक लक्ष्मी खत्रीले बताउनुभयो ।

कृषि पेसालाई व्यावसायिक बनाउन पालिकाले गरेको सकयोगले थप टेवा पुगेको उहाँको भनाइ छ । यहाँका कृषि पेसामा लागेका महिलालाई थप प्रोत्साहन गर्न ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत सबै वडाका महिला किसानका लागि रू एक–एक लाखको योजना सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो ।

“हामीले यहाँका व्यावसायिक कृषिमा लागेका महिलालाई सक्षम बनाउन आर्थिक सहयोगका साथै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरेका छौँ । उपाध्यक्षको नेतृत्वमा महिला विकास बोर्ड गठन गरी प्रोत्साहनमूलक कार्यक्रममा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.