मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा

Share Icon

३० चैत,भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ ।

स्थानीय बासिन्दाका लागि यो ठूलो चाड हो । यहाँ वैशाख २ गते ३२ खट जात्रा भव्यरूपमा सिन्दुर खेलेर बोडेमा जिब्रो छेडेर ऐतिहासिक जात्रा मनाइन्छ । उहाँले भन्नुभयो, “स्थानीय तहले बिदा नदिँदा यहाँका बासिन्दाले चाड राम्रोसँग मनाउन पाएका थिएनन्, त्यसैले यस वर्षदेखि चार दिन बिदा दिने निर्णय गरेका हाँै ।”

विस्केट जात्रालाई विशेषगरी भक्तपुर जिल्लाभरिमा नेवार समुदायले दशैँभन्दा ठूलो चाडका रूपमा मनाउने गर्दछन् । मठमन्दिरमा बलि पूजा गर्ने, विदेशमा रहेका आफन्त पनि बिस्केटलाई घर आउने र जात्रामा नातेदार, आफन्तलाई भोज खुवाएर नौ दिन आठ रातसम्म भव्यरूपमा मनाउने गरिन्छ ।

बिहान भक्तपुर र थिमिमा हात नभएकोे लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन् ।

तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

“महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उहाँले भन्नुभयो ।

यहाँ आज नै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब नौ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि जिब्रो छेड्ने २७ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।

आज व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने परम्परा छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।

त्यसैगरी प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरी उठाइएको छ । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।

कुमालेटोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेकोे तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ । यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.