विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाईट’ बल्न छाडे

Share Icon

२७ चैत,जानकी । बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् ।

विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेको दुई महिना नाघिसकेकोे छ । दिउँसो टाढैबाट देखिने ‘हाई माक्स लाईट’मा राति कुन गाडीले ठोकिदिने हो भन्न चिन्ता स्थानीयवासीमा छ । आठवटा बत्ती भएको लाईट दिउँसो हेर्नलाई मात्र जडान गरिए जस्तो भएको छ ।

विगत डेढ वर्षदेखि केही लाईट बल्ने र केही नबल्ने अवस्थामा रहेकामा दुई महिनादेखि सबै बत्ती बल्न छाडेको छ । स्थानीयवासी देवीराम यादवले भन्नुभयो,“सुरुसुरुमा त राम्रै बल्थ्यो तर पछिपछि विस्तारै एउटा एउटा गर्दै बत्ती निभ्न थाल्यो र अहिले त सबै बल्नै छाड्यो ।”

हाई माक्सका सबै बत्ती बल्न छाडेपछि विगत दुई महिनादेखि गाडीको आवाज सुनेर अँध्यारो सडक वारपार गर्न बाध्यभएको अर्का स्थानीयवासी चेतन गोडरियाले बताउनुभयो ।

औद्योगिक कलकारखाना धेरै भएको उक्त वडामा ‘हाई माक्स लाईट’ ले दिएको उज्यालोले खुसी भएका स्थानीयवासी अहिले अँध्यारोमा हिँड्नुपर्दा दुःखी भएका छन् । उक्त लाईट बिग्रदा राति सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेको गनापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेश्वर गोसाईंले बताउनुभयो ।

“पहिला बत्ती हुँदा हामीलाई निकै सजिलो थियो । टाढाटाढासम्म सबै देखिन्थ्यो तर अहिले पूरै सडक साँझैदेखि अँध्यारो हुने गरेको छ”, उहाँले भन्नुभयो,“यो औद्योगिक क्षेत्र भएकाले राति डियुटी सकेर घर फर्कने कामदारलाई बाटो काट्न निकै कठिन छ ।” अपराधका घटना अँध्यारोमा धेरै हुने भएकाले ‘हाई माक्स लाईट’ बाल्न आफूले वडालाई दबाब दिएको पनि प्रहरी नायब निरीक्षक गोसाइँले बताउनुभयो ।

उक्त पालिकामा तीनवटा यस्ता लाईट रहेकामा गनापुर चोकमा रहेको लाईटको विगत दुई वर्षदेखि विद्युत् महसुल नबुझाएको र त्यसका लागि आफूले पालिकामा लिखित र मौखिकरूपमा पहल गरेको वडाध्यक्ष जगदीश हरिजङ्गले बताउनुभयो ।

पालिका अध्यक्ष छब्बन खाँले भन्नुभयो, “२०७४ सालका जनप्रतिनिधिले विद्युत् महसुल नतिरिदिँदा त्यसको भार हामीमा परेको हो ।” “विगत दुई वर्षदेखि नतिरिएको विद्युत् महसुल बढेर झण्डै रु दुई लाखको हाराहारीमा रहेको छ,” उहाँले भन्नुभयो, “हामीले पैसाको व्यवस्था गरिसकेका छौँ ।

अबको एक हप्तामा ‘हाई माक्स लाईट’बल्नेछ ।” उक्त गाउँपालिकाको गनापुर, बेलहरी र जोग गाउँ गरी तीन ठाउँमा ‘हाई माक्स लाईट’ छन् । गनापुर, बेलहरी, ईन्द्रपुर र साइगाउँमा भने सातवटा सोलार बत्ती रहेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.