Share Icon

२४ चैत,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच तथा तेस्रो खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ ।

बिहीबार पनि तीन खेल सम्पन्न भएका थिए । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । पुलिसका लागि महेश धामीले पाँच तथा आयुष साह, केशव जोशी र रोहित लामाले एक÷एक गोल गरेका थिए ।

यस्तै अर्को खेलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई १३–० गोलअन्तरले हरायो । आर्मीका लागि रोमन रानाले छ, प्रदीप राजवंशीले तीन, अमरबहादुर गुरुङले दुई तथा रञ्जित राउत र देवसिंह धामीले एक-एक गोल गरेका थिए ।

यस्तै तेस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशले बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट दुई÷दुई गोल भएको थियो । कोशीका लागि विसु घिमिरे र मनोज चौधरीले गोल गरे भने मधेसका लागि पङ्कज दाहाल र राहुल साहले गोल गरेका थिए ।

यही चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागिय टोली आर्मी र पुलिस क्लबका साथै कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । नेपाल हक्की सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

Facebook Comments Box

Share Icon