चिनियाँ एप ‘टिकटक’ माथि सरकारको कडाइ, घृणा र द्वेष फैलाउने पोष्ट गरे स्वत: हट्ने

Share Icon

काठमाडाैं । सरकारले चिनियाँ समाजिक सञ्जाल टिकटकमार्फत समाजिक सद्भाव भड्काउने पोष्टहरू बढन् थालेपछि त्यसमा कडाइ गरेको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अब टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोष्ट गरे स्वतः हट्ने व्यवस्था गर्न लागिएको जनाएको हो।

सरकारले सामाजिक सञ्जालको दुरूपयोग रोक्न त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन पहल थालेको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको दुरूपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालयमा बसेको गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीच छलफल भएको बताएका छन्।

उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्रहत्या गर्ने, शान्तिसुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.