जिपी कोइराला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

Share Icon

२८ चैत,सुन्दरहरैँचा । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले अर्को विभागी टोली पुलिस क्लबलाई पराजित गरेको हो ।

नेपाल हक्की सङ््घद्वारा आयोजित उक्त प्रतियोगिताको गए राति विराटनगरको सहिद रङ्गशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराएको हो । यसअघि आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा पनि पुलिसलाई पराजित गरेको थियो । आर्मी क्लब प्रतियोगिताको साविकको विजेता हो ।

खेलको ४१औँ मिनेटमा आर्मीका लागि काशीराज राईले गरेको गोल नै निर्णायक बन्यो । म्यान अफ द म्याच आर्मीकै नितिज न्यौपाने घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, उदीयमान खेलाडी सुदूरपश्चिम प्रदेशका महेश नेपाली, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने घोषित भए ।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एसियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले हक्कीका लागि आवश्यक पर्ने जग्गा जोहो गरेर प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरी यस खेलमा युवापुस्तालाई आकर्षण बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्या डा डिला सङ्ग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताको उपाधि विजेता आर्मीले रु ७५ हजार र उपविजेता नेपाल पुलिस क्लबले रु ४१ हजारका साथै ट्रफी प्राप्त गरेको छ । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान बनाएको सुदूरपश्चिम प्रदेशले रु २५ हजार प्राप्त गरेको छ । यही चैत २२ गतेदेखि भएको सो प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.