स्थानीयले पिपल फाल्न नदिएपछि…

Share Icon

९ चैत,तुलसीपुर । वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो ।

सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ ।

“रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो, “स्थानीयले रुख कुनै पनि हालतमा फाल्न नदिने भनेपछि, रुखको वरिपरि कालोपत्र गरिएको हो ।”

स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै वर्ष पहिले उक्त पिपल रोपेकाले रुख फाल्न अनुमति दिन नसकिएको स्थानीयको भनाइ छ । पिपल फाल्न नदिए पनि स्थानीयले सडकका लागि थप तीन मिटर जग्गा उपलब्ध गराएको वडाध्यक्ष रावतले बताउनुभयो ।

“विगतमा सडक छेउ रहेको पिपल सडक बिस्तारका क्रममा बीच भागमा पुगेको छ”, उहाँले भन्नुभयो, “सडक बिस्तारपछि सडक पाँच मिटरबाट १० मिटर बनाइएको छ ।”

तुलसीपुर उपमहानगरपालिका–८ को कृष्ण मन्दिरदेखि पश्चिम टिकरीतर्फ जाने सडकमा पनि सडकबीचमै पोल राखेर कालोपत्र गरिएको छ । सडकको बीचमा पर्ने पोल हटाउनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बजेट अभावका कारण पोल हटाउन नसकिएको तुलसीपुरस्थित विद्युत् कार्यालये जनाएको छ ।

“हामीसँग सडकबीचमा रहेका पोल हटाउन बजेट हुँदैन । सम्बन्धित कार्यालयले पोल हटाउन बजेट छुट¥याएर काम गर्ने हो”, विद्युत् कार्यालय तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो । सडकका पोल हटाउन पनि केन्द्रबाट अनुमति लिनुपर्ने उहाँको भनाइ छ ।

“सडक निर्माण भइसकेपछि मात्रै जानकारी दिने गरिएकाले यस्तो समस्या आएको हो । पहिल्यै जानकारी दिएपछि हामीलाई पनि सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

यसरी सडक बीचमा रुख, पोल पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । तुलसीपुर–८ निवासी कृष्ण केसीले मोटरसाइकल चलाउँदा सडक बीचमा पोल नदेख्ने तथा झुक्किने गरेको बताउनुभयो । “हामी बानी परेकालाई त केही हुँदैन”, उहाँले भन्नुभयो “नयाँ मानिसलाई सवारीसाधन चलाउन समस्या हुन्छ, पोलमा ठोक्किने सम्भावना हुन्छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.