Share Icon

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले यात्रुवाहक बस राजमार्गबाट खसाल्दा कैयौँ यात्रुहरू त्रिशूली नदीमा बेपत्ता भइरहेको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन्।

शुक्रवार बिहान करिब साढे ३ बजे तिर दुई वटा बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।

पहिरोले धकेलेर नदीमा पुर्‍याएका दुई वटा बसहरूमध्ये एउटा वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको र अर्को काठमाण्डूबाट गौरतर्फ जाँदै गरेको रहेको बताइएको छ।

पर्साको वीरगन्जबाट काठमाण्डूतर्फ आउँदै गरेको बसमा २१ जना र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

“त्यो ठाउँमा सडक त्रिशूलीको किनार नजिकै छ। माथिबाट आएको पहिरोले पल्टाएर र बगाएर दुई वटा बसलाई खोलामा पुर्‍याएको भन्ने प्रारम्भिक जानकारी छ,” शर्माले भने।

उनका अनुसार नदीमा पुगेका दुई मध्ये एउटा बस पानीमा देखिएको जानकारी सुरक्षा निकायले गराएको छ।

“तर बेपत्ता यात्रुहरू भेटिएको जानकारी हालसम्म आएको छैन,” उनले भने।

प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनामा दुख व्यक्त गर्दै बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

“बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु,” प्रधानमन्त्रीले शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टमा भनिएको छ।

प्रधानमन्त्री दाहालले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई समेत अपिल गरेका छन्।

प्रधानमन्त्रीले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुख व्यक्त गरेका छन्।

बेपत्ताको खोजी
बस र यात्रुको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

शुक्रवार बिहान नै नारायणगढ मुग्लिङ सडकमा माथिबाट खसेको ढुङ्गाले लागेर एक जना बसचालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोमा बिहान करिब ३ बजे लेदो सहितको पहिरो सँगै खसेको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु २ ख ६५६६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा बस चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर ४ निवासी ३६ वर्षीय मेगनाथ बि.क. गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Facebook Comments Box

Share Icon