Share Icon

रसुवा । सवारी नियम उलङ्घन गर्ने ३०० सवारी चालकलाई ट्राफिक प्रहरी रसुवाले कारवाही गरेको छ ।

रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने ट्रक तथा कन्टेनरमध्ये कतिपयले पासाङल्हामु मार्गमा गुड्न यातायात विभागको अनुमति नल्याएको, सवारीसाधन गुडाउँदा ढोका खुल्ला राख्ने गरेको, विलबुक साथमा नराख्नेजस्ता थुप्रै गल्ती गरेका कारण कारवाहीस्वरुप जरिवाना गरिएको जिल्ला ट्राफिक इञ्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए ।

गत साउन महीनामा मात्रै ३०० सवारी चालक कारवाहीमा परेका र उनीहरूबाट रु एक लाख ९७ हजार ५०० जरिवानसमेत गरिएको बताउँदै अभिलेखकर्ता ट्राफिक प्रहरी हवल्दार प्रेम धमलाले सवारी चालकलाई ट्राफिक नीतिसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइएको बताए ।

चेतनामूलक कार्यक्रमले सवारी चालकमा विगतको भन्दा केही सुधार आएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको गत साउनमा टिमुरेको भिर राजमार्गमा गुडिरहेको सवारीसाधनमा माथिबाट ढुङ्गा लडेका कारण मालवाहक कन्टेनर र टाटासुमो जीप दुर्घटना भई सोमध्ये जीपमा सवार दुईजनाले घटनास्थलमै ज्यान गुमाएको बताउँदै जिल्ला ट्राफिक इञ्चार्ज भट्टराईले सवारी चालकको गल्तीबाट हुने दुर्घटना भने न्यूनीकरण हुँदै गएको जानकारी दिए ।

नेपाल चीनको व्यापार व्यावसाय अभिवृद्धि गर्ने र राज्य कोषमा बढी राजश्व आर्जन गर्ने रसुवागढी नाकाको ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले बताए ।

ट्राफिक प्रहरीसँग भइरहेको मोटरसाइकल पुरानो देखिएको, ट्राफिक व्यवस्थापनका लागि छिटो गन्तव्य पुग्नुपर्ने रसुवाको कच्ची बाटोमा पुरानो मोटरसाइकल भएको पाइएकाले द्रुत रूपमा काम गर्ने वातावरणका लागि नयाँ साधन उपलब्ध हुन माथिल्लो निकायसँग आग्रह गरिएको अध्यक्ष तामाङले बताए ।

Facebook Comments Box

Share Icon