Share Icon

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पूरा गर्न ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड(एससिइसी) लाई निर्देशन दिनुभएको छ । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने उहाँले स्पष्ट पार्नुभएको छ ।

सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधिसमेतको बैठकमा मन्त्री ज्वालाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाइ भएको सहन सक्ने अवस्था छैन ।’

बैठकको संयोजन गर्नुभएका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुने गरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभयो । ठेकेदार कम्पनीले पटक-पटक प्रतिबद्धता जनाउने तर पूरा नगर्ने विषय अब सहृय नहुने भन्दै सांसद चौधरीले लक्ष्यअनुसार काम नगर्ने ठेकेदारबाट ‘ड्यामेज क्लेम’ गरी उसकै पैसामा अन्य ठेकेदारलाई परिचालन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नारायणगढ-बुटवल सडक तत्काल मर्मतसम्भार गरी सहजरूपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ । यो काम अधिकतम् एक महिनाभित्र भइसक्नुपर्छ । सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय बासिन्दाले धेरै दुःख पाइसके, अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’

पूर्वाधारमन्त्री ज्वालाले सडक निर्माण गरिरहँदा सडक मर्मतसम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने शर्त ठेक्कामा रहेकाले हाल ठेकेदारले गरिरहेको व्यवहार सम्झौताविपरीत रहेको भन्दै सम्झौताका शर्त पालना गर्न निर्देशन दिनुभयो । त्यसैगरी सडक कालोपत्रे गर्दा एकापट्टिको दुई लेन सडक पहिले सम्पन्न गरी त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिनुभयो ।

मन्त्री ज्वालाले ठेकेदारलाई रकम निकासामा समस्या नरहेको, निर्माण सामग्रीको अभाव नरहेको र विद्युत् पोल र तार व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगति भएन भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

संसद्को भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ठेकेदारलाई चीनमा पनि त्यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्र्याक्टरको बदनाम गरेको आरोप लगाउनुभयो । बैठकमा सांसद, नवलपरासीका स्थानीय तहका प्रमुख र प्रोजेक्टमा संलग्न कर्मचारी सहभागी थिए ।

निर्देशनअनुसार काम भए, नभएको अनुगमन गर्न एक महिनामा बैठकमा सहभागी सबै पक्ष सडक निर्माणस्थलमा जाने सहमति पनि भएको छ ।

बर्दघाट-सुनवल बजारमा फागुनभित्रै कालोपत्रे
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट-सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्टरूपमा समयसीमा माग गर्नुभयो । उत्तरमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट-सुनवल बजारमा कालोपत्रे गरिसक्ने जानकारी दिएका थिए । सांसद चौधरीले सो कार्य कार्यान्वयन गर्न दुम्किबास-बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्रलाई निर्देशन दिनुभयो ।

चिनियाँ ठेकेदार र सडक विभागतर्फबाट खटिएका प्रोजेक्ट हेड दुवैजनाले फागुनभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् । सांसद चौधरीले भन्नुभयो, ‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्नेछु । काम पूरा भएन भने तपाईँहरूमाथि कारबाही गरिनेछ, नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सहृय हुनेछैन ।’ साभार हिमालय टाइम्सबाट67

Facebook Comments Box

Share Icon