भूकम्पपीडितको आँगनमा राजनीतिक दलका स्वयंसेवकको सक्रियता

रुकुम पश्चिम — गत कार्तिक १७ गते राति गएको भूकम्पका प्रभावित भएको रुकुम पश्चिम र जाजरकोटका पीडितहरुलाई सघाउन विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले सक्रियता बढाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत दलका विभिन्न जनवर्गीय संगठनहरू स्वयंसेवी रुपमा विभिन्न काममा परिचालित भएका छन् ।
एमालेले कुल १ हजार जना कार्यकर्तालाई २५/२५ जनाको ४० वटा समूह बनाएर पुनर्निर्माणमा खटिएको बताएको छ ।
एमाले केन्द्रीय सचिवालय कमिटीले गरेको निर्णयअनुसार गत मंसिर ३ गतेबाट ‘पुनर्निर्माणका लागी श्रमदान’ अभियान लिएर स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालन भइरहेको अभियानका संयोजक तथा एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । ‘हाम्रो टोली दुई वटा क्षेत्रमा सक्रिय छ । पहिलो भग्नावशेष व्यवस्थापन, सरसफाई तथा पुरिएका सर–सामान निकालेर हस्तान्तरण र दोस्रो अस्थायी टहरा निर्माण ,’ उनले भने, ‘हाम्रो पार्टीका स्वयंसेवकका रुपमा पार्टी नेताहरू, युवा संघ, विद्यार्थी संगठन र मजदुर संगठनका साथीहरू परिचालन हुनुभएको छ ।’
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा २५ र रुकुम पश्चिममा १५ वटा समूह बनाएर काम गरिरहेको एमाले नेता तथा पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले बताए । आफूहरूले दुई जिल्लामा गरेर अहिलेसम्म करिब ५ सय भग्नावशेष व्यवस्थापन र करिब ६ सय वटा अस्थायी टहरा तथा ७ वटा सरकारी विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरेको आचार्यको दाबी छ ।
‘भूकम्पपीडितको दुः खमा मल्हम लगाउन हाम्रो पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरू परिचालन भएका छौं ,’ उनले भने, ‘विभिन्न जिल्लाबाट आएका हाम्रा स्वयंसेवकहरूले स्थानीय पार्टी–कमिटी र सरोकारवालाको सुझाव अनुसार काम गरिरहेका छौं ।’
यसैगरी सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेको छ । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जिल्लाका आठबीसकोट, सानीभेरी र चौरजहारीमा गरेर यही साताबाट करिब ५ सय स्वयंसेवक परिचालन गरेको बताए । सरकारी मापदण्ड अनुसारका १ सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य अनुसार काम सुरु गरेको उनको भनाइ छ ।
प्रत्येक स्थानीय तहमा केन्द्रीय सदस्यको नेतृत्वमा स्थानीय नेता–कार्यकर्ताहरूको समूह बनाएर परिचालन गरेको सभापति ओलीले बताए । ‘हाम्रा साथीहरू प्राविधिकसहित फिल्डमा खटिएका छन्’ उनले भने, ‘बितेको ५ दिनमा हामीले ५ वटा अस्थायी आवास निर्माण गरिसकेका छौं भने यही साताभित्र यो संख्या ३० वटा पुग्नेछ ।’
त्यस्तै नेपाली कांग्रेसले जाजरकोट जिल्लाका विभिन्न पालिकाकमा पनि स्वयंसेवक परिचालन गर्नेगरी योजना बनाइरहेको छ । कार्यवाहक जिल्ला सभापति खड्क बीसीले पहिलो चरणमा करिब १ सय ५० वटा अस्थायी आवास बनाएर हस्तान्तरण गरिरहेको र अब थप १ हजार वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने जानकारी दिए । ‘हामी प्रत्येक पालिकामा केन्द्रीय सदस्यको नेतृत्वमा टोली खटाउँछौं र लाभग्राहीले पाउने सरकारी रकममा रहेर सर–सामान जुटाएपछि हामी स्वयंसेवी भएर काम गर्छौ,’ उनले भने ।
माओवादी केन्द्र पनि दुईवटै जिल्लाका पीडितका लागी अस्थायी आवास निर्माणमा जुटेको छ । माओवादी केन्द्रका रुकुम पश्चिम संयोजक गोविन्द रोकाले भूकम्प गएको भोलिपल्टदेखि नै कुनै न कुनै रुपमा आफ्ना नेता–कार्यकर्ताहरू पीडितको साथैमा रहेको बताए । अहिले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा पार्टीका उप–महासचिव जनार्दश शर्माको नेतृत्वमा कार्यकर्ताहरू परिचालन भएको रोकाको भनाई छ । ‘जिल्लाका प्रभावित ठाउँमा कुल ३१ सय कार्यकर्ता खटाउने तयारीमा छौं,’ उनले भने, ‘अहिले पनि धेरै साथीहरू मैदनमै हुनुहुन्छ । के–कति संख्यामा खटिएको र परिणामको अवस्था के छ भन्नेबारे आधिकारिक तथ्यांक आईसकेको छैन । केही दिनमा हामी यो काम पनि गरेर अघि बढ्छौं ।’
उता जाजरकोटमा पनि माओवादी केन्द्रले पीडितको पीडा कम गर्न सक्रियता बढाएको छ । जाजरकोट जिल्ला इन्चार्ज गगन खड्काका अनुसार विभिन्न पालिकामा गरेर एक हजार बढी कार्यकर्ताहरू परिचालन भएको बताए । भूकम्पपछि उद्धार, उपचार र राहत वितरणका काममा सुरुदेखि नै माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू सक्रियातका साथ लागेको बताउँदै इन्चार्ज खड्काले अब यसपछि पनि घरबास गुमाएकाका लागि अस्थायी आवास निर्माणमा विभिन्न तहका नेता–कार्यकर्ताहरू परिचालन गर्नेगरी तयारी भइरहेको बताए । ‘यसबाहेक विभिन्न जिल्लाबाट त्यहाँको पार्टीले निर्णय गरेर करिब २ सय जना नेता–कार्यकर्ताले अहिले काम गरिरहेका छन्,’ उनले भने ।