नेपाल–भारत संयुक्त सैन्य अभ्यास सूर्य किरण–१७ पिथौरागढमा सुरु

Share Icon

काठमाडाैं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण– १७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु भएको छ।

१७औँ संस्करणको संयुक्त सैन्य अभ्यास सूर्यकिरणमा सहभागी हुन ३ सय ३४ सैनिक सम्मिलित नेपाली सेनाको टोली भारत पुगेको हाे । यो अभ्यास २४ नोभेम्बर देखि ७ डिसेम्बरसम्म सञ्चालन हुनेछ।

३ सय ५४ जवान सम्मिलित भारतीय सेनाको टुकडीको नेतृत्व कुमाओन रेजिमेन्टको एक बटालियनले गरिरहेको छ। नेपाली सेनाको टोली तारा दल गणको प्रतिनिधित्व रहेको छ ।

अभ्यासको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने, हिमाली भूभागमा आतंकवाद विरोधी अभियान र शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत मानवीय सहायता र विपद् राहत प्रदान गर्नु रहेको छ।

विसं २०६७ सालबाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी संयुक्त अभ्यास हुँदै आएको छ। ‘अभ्यास सूर्य किरण’ नाम दिइएको संयुक्त अभ्यासको यो १७ औँ संस्करण हो।

यसअघि २०७९ पुस ०१ गतेदेखि १४ सम्म रुपन्देहीको सालझन्डीमा सूर्य किरण अभ्यासको १६औँ संस्करण सञ्चालन भएको थियो। यसपटक भारतीय सेनाले आयोजना गर्न लागेको हो। नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जना सैनिक टोली सहभागी हुँदै छन्। अभ्यास मंसिर २१ सम्म सञ्चालन हुनेछ।

‘संयुक्त अभ्यासमा सहभागी फौजहरूले विपत् व्यवस्थापन, प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगल युद्धकलासम्बन्धी व्यावहारिक अभ्यास गर्नेछन्,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ, ‘प्रतिविद्रोह तथा प्रतिआतंकवाद, फौजको कार्यक्षमता अभिवृद्धि र प्रकोप व्यवस्थापनमा केन्द्रित रही तालिम सञ्चालन हुनेछ।’

यस संस्करणले दुई देशबीचको वर्षौँ पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै दुई देशका सेनाहरूबीच आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाको विश्वास छ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.