लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

Share Icon

७ मङ्सिर,दोधारा चाँदनी (कञ्चनपुर)। सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताउनुभयो । “सौका, भोटे, राउटे, मगर र रानाथारु, डगौराथारुका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्”, उहाँले भन्नुभयो–“हामीले सबै कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।”

निर्देशक भट्टले रानाथारुको लोककथा रानाथारु भाषामा, मगरका कथा मगरका भाषामा प्रकाशन हुने बताउनुभयो । “दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपालीमा प्रकाशन हुनेछन्”, उहाँले भन्नुभयो, “हाम्रो धर्म संस्कृति रितिरिवाज हिजो कस्तो थियो कथाका माध्यमबाट जानकारी मिल्छ ।” विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको निर्देशक भट्टले जानकारी दिनुभयो ।

साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक कार्य भएको बताउनुभयो । “लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्”, उहाँले भन्नुभयो, “यसबाट लोक जीवन बुझ्न सहज हुन्छ ।”

यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्यले यस क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने साहित्यकार कविराज भट्ट बताउनुहुन्छ । “यसले लोक साहित्यको संरक्षण एवं प्रवद्र्धनमा टेवा पुग्छ”, उहाँले भन्नुभयो, “मौखिकरुपमा रहेको साहित्य लिखितरुपमा आएपछि यसपछि अध्ययन अनुसन्धान गर्नेलाई पनि सहज हुन्छ ।” सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान तीव्र पारेको हो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.