काठमाडौं प्रशासनले महेश बस्नेत र दुर्गा प्रसाईं पक्षसँग छलफल गर्ने, एकै ठाउँमा कार्यक्रम गर्न नदिने
४ मंसिर काठमाडाैँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाएको छ।
सोमबार अपराह्न ४ बजे दुवै पक्षसँग प्रशासनले छलफल गर्न लागेको हो।
बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन्। पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ।
प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ।
दुवै पक्षले माइतीघर मण्डला क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेका थिए।
युवा संघले ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ कार्यक्रम माइतीघर मण्डलमा राखेको छ। यस्तै प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भन्दै कार्यक्रम गर्न लागेका छन्।