इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण
५ कार्तिक,काठमाडौं। इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थी मध्ये तीन जनाको शव आइतबार काठमाडौं आइपुगेको छ ।
इजरायलको सरकारले पहिलाे चरणमा पहिचान खुलेका ४ जना विद्यार्थीको शव कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासमा बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो । नारायणप्रसाद न्यौपानेको शव शनिबार राति नै नेपाल आइपुगेको थियो ।
आइतबार बिहान लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । आशिष चौधरीको शव भने आइतबार दिउँसो आइपुग्ने जनाइएको छ ।
साेही शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू विमानस्थलमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । चौधरीको शव नेपाल आइपुगेसँगै चार वटै शवलाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत धनगढी लगिने भएकाे छ ।
धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शवलाई पुर्याउने व्यवस्था गर्ने भएकाे जनाइएकाे छ ।