भारतीय अनुदानमा हुम्लामा बनेका दुई विद्यालय भवन उद्घाटन
काठमाडौं । ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारले उपलव्ध गराएको साढे पाँच करोड अनुदान रकममा हुम्लाको दुर्गम क्षेत्रमा बनेका दुईवटा विद्यालय भवन उद्घाटन गरिएको छ ।
नेपालका लागि भारतका राजदूत, नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
पाँच करोड बाउन्न लाख तीस हजार रूपैयाको अनुदानमा सर्केगाड गाउँपालिका स्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो ।
‘नेपाल-भारत विकास सहकार्य’ परियोजना अनुसार विभिन्न जिल्लामा विद्यालय भवन, स्कुल बस उपलव्ध हुँदै आएका छन् ।