Share Icon

काठमाडौं । राजनीतिक वृत्तमा हलचल हुने गरी तस्करी भएको अवैध सुन कारोबार प्रकरणको छानबिनका लागि बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले कार्य प्रारम्भ गरेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर काम थालेको हो । असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित आयोगलाई तीन महिनाको समय तोकिएको छ । तीन महिनाभित्र आयोगले आवश्यक अनुसन्धान गरी सोको प्रतिवेदन सरकारलाई बुझाउनुपर्ने छ ।

आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले आयोगलाई तीन महिनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको आयोगका सदस्य किशोरजंग कार्कीले बताउनुभयो ।

२ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरएको ठूलो परिमाणको सुन बरामद गरेपछि सदनदेखि सडकसम्म तातेको थियो । ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सय किलो भनिएको उक्त सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

याे समाचार आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon