दुई चिनियाँ सुन तस्कर गिरोहको सम्बन्ध खोज्दै सिआइबी

Share Icon

काठमाडाैं । सवारीसाधनका पार्टपुर्जा र विद्युतीय चुरोट (भेप)भित्र राखेर नेपालमा सुन तस्करी गर्ने दुई चिनियाँ गिरोहबीच सम्पर्क देखिएको छ । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा फरार रहेका दीपेश बस्नेतको पछिल्लोपटक सवारीसाधनका पार्टपुर्जामा राखेर तस्करी गर्ने समूहका व्यक्तिसँग पनि सम्पर्क देखिएको हो ।

भेपभित्र लुकाएर हुने तस्करीमा अवरोध भएपछि सवारीसाधनका पार्टपुर्जालगायतका सामानमा सुन लुकाएर तस्करी गर्न थालेको हुन सक्ने अनुसन्धानकर्ताको प्रारम्भिक आकलन छ । राजस्व अनुसन्धान विभागले गरेको प्रारम्भिक छानबिनमै यसका केही प्रमाण भेटिएका थिए । संगठित शैलीको अन्तर्देशीय अपराध भएकाले आइतबार विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुसन्धानको जिम्मा दिएको छ ।

भेपमा लुकाएर तस्करी गर्न लागिएको सुनको सिआइबीले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ । जसमा चिनियाँ समूहले भेपभित्र लुकाएर नौ किलो सुन तस्करीको प्रयास गरेको थियो । भेप भन्सारबाट लिलामी गराउने र सहजै सुन पास गर्ने उनीहरूको योजना थियो । तर, भन्सारको स्टोरबाटै सुनजडित भेप चोरी भएपछि भन्सार कार्यालयले प्रहरीमा निवेदन दिएको थियो । सोही आधारमा सिआइबीले भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासहित सातजनालाई पक्राउ गरी असारको अन्तिम साता मुद्दा दायर गरेको थियो ।

भन्सार कार्यालय स्टोरमा भेपमा सुन रहेको थाहा पाउने र चोरी गर्ने योजनाकारमध्ये एक व्यक्ति भन्सारमै एजेन्टका रूपमा काम गर्ने दिनेश बस्नेत थिए । चोरिएको सुन बिक्री गर्नेमा उनका भाइ दीपेश बस्नेतको प्रमुख भूमिका देखिएकोमा उनी फरार छन् । दीपेशको पछिल्लो सय केजी सुन तस्करीमा संलग्नसँग समेत सम्पर्क देखिएको सिआइबी स्रोत बताउँछ । उनी पनि भन्सार एजेन्ट हुन् । सिन्धुपाल्चोक स्थायी घर भएका दीपेश बारम्बार चीन जाने गरेको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यसरी सुन तस्करी गर्न खोज्ने चिनियाँ भने भोलिपल्टै भाग्न सफल भएका थिए । उनलाई नेपालमा सहयोग गर्ने कोही पनि पक्राउ परेका छैनन् । ती चिनियाँको राजनीतिक नेतृत्वसँग पनि सम्बन्ध देखिन्छ ।

१० पुस ०७९ मा सुन लुकाइएको भेप भन्सारले नियन्त्रणमा लिएको थियो । दुई महिनापछि त्यो भन्सारबाट चोरी भयो । सय केजी सुन तस्करी गर्ने समूहले गत फागुन–चैतदेखि काठमाडौंमा तयारी सुरु गरेको देखिन्छ । जस आधारमा भेपमार्फत तस्करी असफल भए पनि चिनियाँ समूहले नयाँ ब्रेकसुमा लुकाएर तस्करी थालेको हुन सक्ने अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् । ‘एउटै समूह हो भन्ने केही आधार भेटिएका छन्,’ उनले भने, ‘फरार रहेका चिनियाँ पक्राउ परेपछि यसमा थप प्रस्ट हुन्छ ।’

राजस्व अनुसन्धान विभागले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा यसमा संलग्न १८ जनालाई पक्राउ गरेकोमा एक भन्सार एजेन्टलाई स्वास्थ्यका कारण हाजिरी जमानीमा छाडी १७ जनालाई सिआइबीको जिम्मा लगाएको छ । सिआइबीले संगठित अपराध र भन्सार छलीको मुद्दामा अनुसन्धान गर्न सोमबार जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । ब्युरोले एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर यसमा अनुसन्धान थालिसकेको छ ।

दावा र थुप्तेनको मोबाइलमा लुकेको छ गिरोहको रहस्य
पक्राउ परेकामध्ये चिनियाँ मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङमाथि सिआइबीको अनुसन्धान केन्द्रित छ । भारतीय नागरिक थुप्तेन नेपालतर्फ सुन तस्करीको व्यवस्थापन मिलाउने व्यक्ति हुन् । उनले नै गरिब नेपालीको नाममा कम्पनी दर्ता गरी सवारीसाधनका पाटपुर्जा तथा अन्य सामानमा लुकाएर तस्करीको वातावरण बनाएका थिए ।

त्यस्तै, दावाको नेपालमा नेता तथा सुरक्षा अधिकारीसम्म चिनजान देखिएको छ । नेपाली महिलासँग बिहे गरेर व्यवसायसमेत गर्दै आएका उनी पाँच वर्षदेखि नेपालमा बस्दै आएका छन् । हुन्डीदेखि जडीबुटी, सुन तस्करीलगायत धेरै किसिमको अपराधमा उनको संलग्नता देखिएको छ । प्रहरीका उच्च हाकिमसँग पनि उनको सम्बन्ध पनि भेटिएको छ । नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकले उनलाई ‘फोन नै रिसिभ भएन त भाइ’ भन्दै ह्वाट्सएपमा म्यासेज पठाएको अनुसन्धान अधिकारीले पत्ता लगाएका छन् । छिरिङ नेपालीसमेत बोल्छन् । उनले उच्च प्रहरी अधिकारीलाई दाइ भन्ने गरेका थिए । विगतमा कल बाइपासदेखि अवैध कल सेन्टरको धन्दामा पनि उनको सम्पर्क देखिए पनि प्रहरीले उनीमाथि कारबाही गर्न सकेको थिएन । जसकारण यो काण्डमा केही पूर्वप्रहरी अधिकारीमाथि समेत छानबिन हुने सम्भावना छ ।

दावा र थुप्तेनको मोबाइल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । पक्राउ पर्नुअघि नै उनीहरूले मोबाइलका धेरै डेटा डिलिट गरिसकेका थिए । रिकभर हुन सकेमा सुन तस्करीको उच्च तहको नेटवर्क पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरूले वी च्याटमार्फत कारोबारीबीच संवाद गर्दै आएका थिए । तस्करीमा संलग्न अन्य चिनियाँ गिरोहका सदस्यको नाम पत्ता लागे पनि उनीहरू भने फरार भइसकेका छन् । उनीहरूले काठमाडौंका चार ठाउँमा गोदाम राखेर सुन लुकाउने, गाल्ने र बाँडफाँट गर्दै आएका थिए ।

भन्सार एजेन्ट दीपेश बस्नेत, जसको दुवै तस्कर समूहसँग देखियो ‘कनेक्सन’
भन्सार कार्यालयको स्टोरमा भेपमा सुन रहेको थाहा पाउने र चोरी गर्ने योजनाकारमध्ये एक दिनेश बस्नेत भन्सारमै एजेन्टको सहयोगीका रूपमा काम गर्थे । चोरिएको सुन बिक्री गर्नेमा प्रमुख भूमिका देखिएका उनका भाइ दीपेश बस्नेत फरार छन् । उनी भन्सार एजेन्ट हुन् । पछिल्लो सय केजी सुन तस्करीमा संलग्न व्यक्तिहरूसँगसमेत दीपेशको सम्पर्क देखिएको सिआइबी स्रोत बताउँछ । सिन्धुपाल्चोक स्थायी घर भएका उनी बारम्बार चीन जाने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साभार नयाँ पत्रिका दैनिकबाट

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.