Share Icon

२२ साउन,महोत्तरी । लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् ।

वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलपूmलका बोटबिरुवा, तरकारी, उखु, मकै, कोदोलगायत अन्नबालीलाई राहत मिलेको किसान बताउँछन् ।

“गएरातिको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका मुहान अब रसाउने आश जागेको छ” भङ्गाहाका किसान दीपबहादुर फुँयालले भन्नुभयो, “अब खानेपानीको सङ्कट नबढ्ला ।” आइतबार लामो समयसम्म पानी परेकाले माटोको भित्री सतहसम्म चिस्यान पुगेको उहाँले बताउनुभयो । जिल्लाको सुदूरउत्तरवर्ती चुरे र यसका शृङ्खलाबाट निस्कने नदी, खोल्साखोल्सी र झोराहरुमा अब पानी रसाउने सम्भावना बढे्को उहाँको भनाइ थियो ।

“बर्दिबासका १० र गौशालाका १० भन्दा बढी बस्तीमा जडित खानेपानीका मुहान यिनै नदी, खोल्साखोल्सी र झोरा हुन्”, फुँयालले भन्नुभयो, “लामो खडेरीले पानीका मुहान सुक्दैजाँदा खानेपानीको हाहाकार बढ्दै गएको थियो ।”

साउन तेस्रो सातामा परेको पानीले मुहानमा राम्ररी फुट्ने र भण्डारण ट्याङ्कीमा पानीको अभाव नहुने विश्वास बढेको बर्दिबासको साना, सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव उदयबहादुर भण्डारीले बताउनुभयो । “पानी नपरेपछि करिब तीन महिना पानीको समस्या भयो । भण्डारण ट्याङ्की रित्तिने अवस्थामा पुगेको थियो”, उहाँले भन्नुभयो, “वर्षा भएसँगै नदी, खोल्साखोल्सी र झोरामा पानी राम्ररी फुट्ने (रसाउने, बढ्ने) विश्वास बढे्को छ ।”

यस वर्ष जिल्लाका सुदूरउत्तरवर्ती र मध्यउत्तरवर्ती भेगमा मात्र नभइ मध्य र दक्षिणवर्ती भेगमा पनि खानेपानीको समस्या भएको जलेश्वर–२ का वडाअध्यक्ष वरुण दाहालले बताउनुभयो । जलेश्वरमा केही दिन चापाकल सुक्दा ट्याङ्करबाट घरघरै खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।

धानको ब्याड राख्ने समयदेखि नै यहाँका किसानले पानीको अभाव झेल्दै आएका छन् । जिल्लामा करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा आकासे पानीको भरमा खेती गर्नुपर्ने भन्दै हालसम्म २५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा कूल ७१ हजार हेक्टर कृषियोग्य जमिन रहेकामा ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ ।

Facebook Comments Box

Share Icon