बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

Share Icon

१४ साउन,लहान। लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो ।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो । यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ ।

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशङ्कर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०÷०८१ मा लहान नगरपालिकाबाट रु ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । “यहाँ धेरै ठूलो रकम लाग्छ । प्रदेश र सङ्घ सरकारसँग पनि समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसपालि केही महिनाभित्रै ठोसरूपमा ठूला योजना ल्याएर तटबन्ध निर्माण गर्छौँ । अहिले तत्कालका लागि अस्थायी प्रकृतिको तटबन्ध निर्माण गरिनेछ ।” यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लहान नगरपालिका–२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ नं वडा र भगवानपुर गाउँपालिकाको १ र ४ नं वडाको गरी सयौँ बिघा उर्वर जमिन वर्षौँदेखि कटान भइरहेको लहान–२३ का अजय यादवले बताउनुभयो । वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.