घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु

Share Icon

८ साउन,तुलसीपुर ।दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो ।

“पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।” हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ ।

घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा रु एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो । घोराही–तुलसीपुर चार लेन सडक मर्मतका लागि रु तीन करोड बजेट विनियोजन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो ।
यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो ।

ठेक्का तोडिएसँगै रु तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताउनुभयो । “चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो”,उहाँले भन्नुभयो । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उहाँले बताउनुभयो ।

सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन् ।“सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ”, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भन्नुभयो,“पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.