रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

Share Icon

८ साउन,भादगाउँ ।आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो ।

यसवर्ष भक्तपुर नगरपालिका–७, चोर्चा निवासी रत्नभक्त दुमरुले खःमेय् चढाउनुभएको हो । उहाँले चाङ्गुनारायण नगरपालिका बागेश्वरीबाट रु एक लाखको खःमेय् खरिद गरेर ल्याएको जानकारी दिनुभयो । दमुरुले पाँच वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गर्नुभएको थियो । तर नवदुर्गा देवीलाई खःमेय् चढाउन इच्छा व्यक्त गर्ने श्रद्धालु धेरै भएकाले पालोअनुसार दुमरुले यो वर्षमा मात्र खःमेय् चढाउने अवसर पाएका हुन् ।

दुमरुले चढाएको खःमेय्लाई नवदुर्गा देवगणका नकीँ (मुली महिला) मङ्गलमाया वनमालाले विधिविधानअनुसार नवदुर्गा द्यःछें प्राङ्गणमा पूजाआजा गर्दै देवगृहमा भित्र्याएका थिए ।

नकीं मङ्गलमायाले नै वडादसैँको नवमीसम्म खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् । भक्तपुरमा वडादसैँको महानवमीको राति ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तिका लागि बलि दिन धार्मिक, सांस्कृतिक र ऐतिहासिकरुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर राक्षसको प्रतिकका रुपमा लिइन्छ ।

खःमेय् निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, शरीरमा सात वटा चक्र भएको ठूलो मोटोघाटो हुनुपर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिनुभयो ।

खःमेय् देवगृहमा भित्र्याउनुअघि तलेजु मन्दिरका पदाधिकारीले अवलोकन गरी योग्य छ छैन निक्र्यौल गरिन्छ । त्यसपछि सोही स्थानबाट खःमेयई झिँगा र लामखुट्टेले टोक्न नसकोस् भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने परम्परा छ । देवगृहमा भित्र्याएपछि खःमेय्लाई जसले नवदुर्गा देवगृहको किलामा बाँड्छ सोही व्यक्तिले नै नवमीको दिनमा किलाबाट खोल्ने र आफैँ ब्रम्हायणी पिठमा गई बलि दिइने परम्परा छ ।

खःमेय्लाई महानवमीसम्म भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा छ । विधिवत्रुपमा नवदुर्गा द्यःछें भित्र्याएको खःमेय्लाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिइन्छ । सोही दिन खम्येलाई जाँड, रक्सी खुवाउने र शरीरभरि तेल लगाएर अबिर छरेर दौडाएर ब्रम्हायणी पीठ पु¥याउने प्रचलन छ ।

महिषासुरको प्रतीक मानिएको खःमेय्लाई दौडाएर ब्रम्हायणी पु¥याउने परम्परालाई स्थानीय भाषामा खःमेय् व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा)का रुपमा लिइन्छ जुन विजयादशमीको अवसरमा भक्तपुरमा मनाईने एक महत्वपूर्ण जात्रा हो ।

महानवमीको मध्यरातमा त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यसरुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप खःमेय् बलिपूजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

कालरात्रिका क्रममा बध गरिएका निकुथु र खःमेय्को मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ । सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.