Share Icon

८ साउन,भजनी। कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त हुनुहुन्छ । वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उहाँकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन् । “दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो। समाजसेवी बोहोराले भन्नुभयो, “नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ । बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो ।”
उहाँले भन्नुभयो, “पाँच सय मिटर जमिन कटान भइसकेको क्षेत्रमा १५ मिटर तल झोलुङ्गे पुल छ । पुलको दायाँबायाँ तटबन्ध नहुँदा कटानको जोखिममा परेको हो ।” स्थानीयवासीले नदी नियन्त्रणका लागि कुकाठ, बाँस, झारपात प्रयोग गरेर बोरामा बालुवा भर्दै जैविक तटबन्ध निर्माण गरिरहेका छन् । पुल निर्माण भएपछि कान्द्रामा सञ्चालन हुँने डुङ्गा विस्थापित भएको छ भने नागरिकलाई पुलले आवागमनमा निकै सहज भएको छ ।
वडा नं ९ र ४ का १ सय ५० भन्दा बढी गाउँलेले चार दिनदेखि निरन्तर दैनिक श्रमदान गरेर तटबन्ध निर्माण गरिरहेको वडा नं ९ का अध्यक्ष सञ्जित चौधरीले बताउनुभयो । “वडा नं ९ र ४ वडाका दैनिक डेढ सयदेखि दुई सय बढी हामीहरूले श्रमदान गरिरहेका छौँ । बल्लतल्ल बनेको पुल यसैवर्ष नदीको जोखिममा परेपछि पुल जोगाउन गाउँले लागेका हौँ ।” वडाध्यक्ष चौधरीले भन्नुभयो, “वर्षौँंदेखिको गाउँलेको माग रहेको झोलुङ्गे पुल नै खतरामा पर्ने देखेपछि श्रमदान गरेरै बचाउने प्रयास गरिरहेका छौंँ ।” कम्तीमा यो बर्खा पुल बचाउन सकियो भने अर्को वर्ष नदीमा तटबन्ध गरेर पुल बचाउन सकिन्छ ।”

जैविक तटबन्ध निर्माणमा स्थानीय नागरिकका साथै नगरपालिकाका जनप्रतिनिधिसहित संघीय सांसदले पनि साथ दिनुभएको छ । संघीय सांसद गंगा चौधरी पनि स्थानीय नागरिकहरूसँगै जनश्रमदानमा सहभागी हुनुभएको थियो । नगरपालिकाका प्रमुख केवल चौधरी, वडाध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतले पनि नदी नियन्त्रणका लागि स्थानीयसँग जनश्रमदान गर्नुभएको थियो ।
सांसद चौधरीले जनताको माझमा गएर काम गर्न निकै आनन्द लाग्ने बताउनुभयो । “पुल निर्माण भएपछि त्यसको आसपासको क्षेत्रमा निर्माण कम्पनीले तटबन्धको काम गर्नुपर्ने थियो, त्यो नहुँदा नदीले कटान गरेपछि पुल जोखिममा परेको हो ।” उहाँले भन्नुभयो, “यसवर्ष जसोतसो पुल जोगाउने काममा स्थानीयवासी लागेका छन् । बर्खा सकिएपछि तटबन्धको काम हुने भएकाले पुल जोखिममा पर्नेछैन ।”
पुल कसले निर्माण गरेको हो भन्नेसम्म थाहा छैन । नगरपालिकाका इञ्जीनीयर अनिश श्रेष्ठले आयोजना कसको हो भन्ने थाहा नभएको बताउनुभयो । “सङ्घ र प्रदेशका आयोजनाको बारेमा नगरपालिकालाई प्रायः थाहा हुँदैन । त्यो आयोजना पनि थाहा भएन ।” इञ्जीनीयर श्रेष्ठले भन्नुभयो, “आयोजनाबाट समन्वय नहुँदा यस्ता कैयौंँ आयोजनामा नगरपालिकालाई थाहै हुँदैन । हामीसँग सङ्घ र प्रदेशको समन्वय नहुँदा हामीलाई पनि समस्या हुँदै आएको छ ।” पुल निर्माण गरेको निर्माण कम्पनीको बारेमा कसैलाई जानकारी नै छैन । बजेट कसको हो भन्ने पनि थाहा छैन ।

Facebook Comments Box

Share Icon