अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा

Share Icon

काठमाडाैं । जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्ड सञ्चालनमा आएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरेपछि सञ्चालनमा आएकाे हाे ।

उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायत अन्यको उपस्थिति थियो ।

कूल १७.३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् । कूल भारु ७८३.८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको छ । नेपालका प्रधानमन्त्रीको गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो ।जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको छ । बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गा अधिग्रहणको काम भइरहेको छ ।

समारोहमा बोल्दै मन्त्री ज्वालाले रेल क्षेत्र सहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले यस रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यसले नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताउनुभयो।

सोही समारोहमा बोल्ने क्रममा नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्घ रहेको बताउनुभयो ।

यस परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ । यो परियोजना हाल भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौं कनेक्टिभिटी परियोजनाहरुकैै एक भाग हो । यसले भारत र नेपालबीचको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्नेछ, जुन भारत सरकारको छिमेकी पहिलो नीतिको महत्वपूर्ण अंश हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.