हिउँदे सिँचाइका लागि पानी सङ्कलन

Share Icon

२ साउन,गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ । सुक्यायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँको सुक्यायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उहाँले बताउनुभयो । “महादेवटार ठूलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ, तरकारी खेतीका लागि मात्र भने पनि मोटर लगाएर नदीबाट पानी तानेर सिँचाइ गर्ने गरी पोखरी निर्माण गरिएको हो”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करिब दुई सय घरपरिवारले करेसाबारीमा हिउँदे सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी रामकुमार दरैले जानकारी दिनुभयो । “नदीमा मोटर जडान गरी फलामको पाइपमार्फत पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिनसक्ने सक्नेछन् ।”

पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रका करिब पाँच सय रोपनीभन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिँचाइ गर्न सकिने उहाँको भनाइ छ । “लिफ्टमार्फत बूढीगण्डकीको पानी तानेर पोखरीमा पानी जम्मा गरी हिउँदमा तरकारी बालीमा सिँचाइ गर्ने योजनाअनुसार पोखरी निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “योजना सम्पन्न भए पनि कम्तीमा यहाँका स्थानीयवासीले आफ्ना लागि आफँैले तरकारी खेती गर्न पाउने भएपछि बाहिरबाट तरकारी आयात गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्छ ।”

योजना सम्पन्न भए पनि आगामी हिँउददेखि महादेवटारका किसानले हिउँदे तरकारी बालीका लागि सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी दरैले बताउनुभयो । योजना सम्पन्न गर्न स्थानीयवासीले उपभोक्ता समितिमार्फत पोखरी निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.