Share Icon

काठमाडाैं । नेपालीलाई म्यानमारमा पुर्‍याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान जुन पक्राउ परेका हुन्।

नेपालीहरूलाई आकर्षक रोजगारी दिने भनेर लाओस, थाइल्यान्ड, म्यानमारलगायत देशमा पुर्‍याउने र अवैध अनलाइन स्क्यामिङमा जबरजस्ती काममा लगाउने गरेको भन्ने सूचना तथा गुनासो ब्युरोमा आएको थियो।

त्यसैबीच ब्युरोमा असार २६ गते एक जना पीडितले चिनियाँ नागरिकविरूद्ध जाहेरी दिइन्। जो म्यानमारबाट २०७९ भदौ ६ गते फर्किएकी थिइन्।

पीडित महिला नेपाल फर्किए पनि प्रहरीमा पुगेकी थिइनन्। तर चिनियाँ नागरिकले ह्वाट्सएपमार्फत् धम्क्याउने, दुर्व्यवहार गर्ने गरेका थिए।

त्यस्तै पीडितकै अर्की एक जना नातेदार पनि म्यानमारमा छन्। ती नातेदारलाई समेत दुर्व्यवहार गर्ने धम्की आएपछि पीडित जाहेरी लिएर ब्युरो पुगेको स्रोतले बतायो।

‘नातेदार पनि त्यहीँ फसेकी छन्। फर्किन खोज्दा पनि सकेकी छैनन्। नातेदारलाई क्षति पुग्ने काम गर्ने भनेर धम्क्याएपछि पीडितले आफन्तसँग भनेर प्रहरीकहाँ घटना आइपुगेको हो,’ स्रोतले भन्यो।

ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार लियान सन् २०१८ देखि नेपाल आउने/जाने गरेका थिए। उनी भिजिट, विद्यार्थी र व्यापार भिसामा नेपाल आएर विभिन्न व्यापार, व्यवसायमा लगानी गरिरहेका थिए।

‘कहिले भिजिट भिसामा आए, कहिले विद्यार्थी भिसामा। यसरी पटकपटक आएर नेपाल बसेको देखिन्छ,’ उनले भने, ‘ठमेल, दरबारमार्गमा विभिन्न व्यवसाय चलाइरहेको पनि पायौं। तर नेपालीहरूको नाममा दर्ता गरेको पनि देखिन्छ। यसबारे के हो भनेर पनि अनुसन्धान गरिरहेका छौं।’

एक जना दोभाषे साथीमार्फत् पीडितको लियानसँग चिनजान भएको थियो। चिनजान भएपछि ती पीडित महिलाले लियानले सञ्चालन गरेको पसलमा ४-५ महिना काम गरेकी थिइन्।

काम गर्ने सिलसिलामा लियानले पीडितलाई थाइल्यान्ड जाने प्रस्ताव गरेका थिए। पीडित महिलालाई थाइल्यान्डमा कम्युटर टाइपिङको काम दिने भनिएको थियो।

लियानको उक्त प्रस्तावपछि उनी थाइल्यान्ड जान तयार भइन्।

भिजिट भिसाको प्रयोग गरी पीडित महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढेर २०७९ साउन ९ गते थाइल्यान्डमा पुगिन्। त्यहाँ रहेका अर्का चिनियाँले पीडितलाई १३ घण्टा बस र डुंगा चढाएर म्यानमारमा पुर्‍याएका थिए।

पीडितलाई नाम नै थाहा नभएको कम्पनीमा लगेर बन्धक बनाइएको थियो।

त्यहाँ पुगेपछि पीडितको राहदानी र मोबाइल पनि खोसिएको एसएसपी श्रेष्ठले बताए।

‘राहदानी र मोबाइल पनि जफत गरेर अवैध अनलाइन स्क्यामिङ (लभ स्क्याम, क्रिप्टो करेन्सीको लगानी) गराउने काम गराएको पायौं। दिनको १८ देखि २० घण्टासम्म काम गराएर शोषण गरेको देखिन्छ,’ एसएसपी श्रेष्ठले भने, ‘श्रम शोषण, शारीरिक तथा मानसिक यातना दिएपछि पीडित बिरामी भएकी थिइन्।’

नेपालीहरूलाई त्यहाँ बसेर अमेरिकी नागरिकलाई स्क्याम गर्न लगाइएको थियो।

करिब एक महिना बसेर बिरामी भएपछि पीडितले नेपाल फर्किने भनेपछि चिनियाँहरूले फिरौती मागेका थिए।

पीडित महिलाले धेरै काम नगरेकाले २० हजार थाइ भाट मात्रै पाएकी थिइन्। भएको रकम बुझाएपछि ती चिनियाँले उनलाई छाडेका थिए।

त्यसपछि पीडित २०७९ भदौ ६ गते नेपाल आइपुगेकी हुन्।

प्रहरी स्रोतका अनुसार म्यानमारमा अन्य नेपालीहरूलाई पनि चिनियाँले काममा लगाएका छन्।

१३ जना पीडितका आफन्तले उद्धारका लागि ब्युरोमा निवेदन समेत दिएका छन्। तर प्रहरीले उद्धार गर्न सकेको छैन। प्रहरीले त्यहाँका दूतावास, संघ-संस्थासँग कुराकानी गरे पनि उद्धार गर्न नसक्ने जवाफ पाएको स्रोत बताउँछ।

अनौपचारिक माध्यमबाट नभएपछि ब्युरोले प्रहरी प्रधान कार्यालय हुँदै परराष्ट्र मन्त्रालयलाई पत्र समेत पठाएको छ। तर अझै पनि उनीहरूको उद्धार हुने/नहुने टुंगो छैन।

‘चिनियाँहरूले १२ लाखसम्म मागेका रहेछन्। तिर्न नसकेपछि उनीहरू फर्किन पनि सकेका छैनन्। तर उद्धार हुन सकेको छैन,’ स्रोतले भन्यो।

उनीहरूलाई पनि विभिन्‍न प्रलोभनमा पारेर त्यहाँ पुर्‍याइएको हो।

प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्न हुनुपर्ने आशंका गरेको छ।

प्रहरीले लियानमाथि थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

Facebook Comments Box

Share Icon