नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

Share Icon

२६ असार,गलेश्वर।जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो ।

नारच्याङमा रु १६ अर्बको लागतमा एक सय नौ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो । यो जिल्लामै ठूलो आयोजना हो । कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरु निर्माण गरिएका छन् ।

आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माण काम सकिएको छ । नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको इन्जिनियर तामाङले जानकारी दिनुभयो । पेनस्टक र टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको एक हजार पाँच सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ ।

तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । क्यासकेडको विद्युत्गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ ।

करिब रु १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली दुई सय २० केभिए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ ।

छोटेपा–दोबिल्ला हँुदै दाना सबस्टेसन जोड्ने आठ दशमलव पाँच किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटा मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ ।

दुवै आयोजनाका लागि निर्माण गरिने विद्युत्गृहको सिभिल स्ट्रक्चरको काम सकिएर इलेक्ट्रोमेकानिकलको काम थालिएको छ । भौगोलिक विकटताका भएर पनि आयोजना निर्माणले तीव्रता पाएको इन्जिनियर लामाले बताउनुभयो । आगमी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.