धान खेतीभन्दा माछामा तेब्बर आम्दानी

Share Icon

–चन्द्रकला भण्डारी
२२ असार,झापा । धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो ।

प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत जिल्लाका छ पालिकामा माछा ब्लक नै छुट्याएर विगत दुई वर्षदेखि व्यावसायिक माछापालन भइरहेको छ । कचनकवल, हल्दिबारी र कमल गाउँपालिका तथा गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकामा हाल दुई वर्षीय परियोजना अन्तर्गतको माछा ब्लक सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

धानभन्दा तीन गुणा बढी माछाबाट आम्दानी हुने गरेको कार्यालयका मत्स्य विकास शाखाका निमत्त प्रमुख केदारकुमारी अधिकारीले बताउनुभयो । उहाँले एक कट्ठा जमिनमा पालिएका माछाले सोही जमिनमा उत्पादन गरिएको धानको भन्दा तीन गुणा बढी आम्दानी दिने जानकारी दिनुभयो । उहाँले परियोजनाले दश वर्ष कार्यक्रम सञ्चालन गर्ने तयारीअनुसार ब्लक विकास कार्यक्रम सञ्चालन गरे पनि अब दुई वर्षमात्र चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला १० वर्ष चलाउने भन्ने थियो कार्यक्रम, तर दुई वर्षमै सकियो ।” उहाँले पाँच हेक्टर जमिनमा ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

परियोजनाअन्तर्गत क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षमा रु २५ लाख र यान्त्रिकीकरणमा रु डेढ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । जिल्लामा हाल तीन सय ६५ हेक्टर जमिनमा व्यावसायिक माछापालन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले विगतको भन्दा फरक किसिमले किसानले माछा पाल्न थालेको जनाउँदै भन्नुभयो, “एउटै पोखरीमा कार्प जातका नौ प्रकारका माछा पाल्न थालेका छन्, जसले किसानलाई झनै ठूलो फाइदा भएको छ ।”

जिल्लामा हाल थाइल्यान्डबाट ल्याइएको पङ्गासेस र कार्प जातका माछापालन बढी हुने गरेको छ । उहाँले विग्रेट, सिल्भर, कमन ग्रासकार, रौँ, नैनी, भ्याकुर जातका माछा एउटै पोखरीमा किसानले पालिरहेको बताउनुभयो । उहाँले एक कट्ठा जमिनमा दुई हजार माछा पाल्न सकिने जानकारी दिनुभयो । उहाँले सङ्घीय सरकारले किसानलाई प्रतिकट्ठा रु १० हजारका दरले र प्रदेश सरकारले प्रतिकट्ठा रु १६ हजार छ सय ६६ का दरले पोखरी खन्नका लागि अनुदान प्रदान गर्दै आएको छ । “उनीहरुका लागि यो बजेट पर्याप्त होइन”, उहाँले भन्नुभयो, “सानो भए पनि प्रोत्साहित भएका छन्, विगतमा भन्दा माछा पाल्ने किसान जिल्लामा बढिरहेका छन् ।”

माछा फार्मलाई उद्योगमा रुपान्तरित गरेपछि माछा किसान अन्यायमा परेको अर्जुनधारा कृषि फार्म प्रालिका सञ्चालक दुर्गाप्रसाद भट्टराईले बताउनुभयो । उहाँले सरकारले तत्काल माछालाई कृषिमै दर्ता गराएर सोही अनुसारको सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर भारतीय सस्तो माछासँग बजारमा प्रतिस्पर्धा गर्नुपर्ने छ, अर्कोतिर सरकारले उद्योगमा दर्ता गराएर विद्युतीय महसुल बढाइरहेको छ, यसले हामी मारमा प¥यौँ ।”

उहाँका अनुसार कृषिमा विद्युत् महसुल रु अढाईमात्र छ भने उद्योगका लागि प्रतियुनिट रु १५ रहेको छ । हाल तीन बिगाहा जमिनमा माछापालन गरिरहेका भट्टराई भन्नुुहुन्छ, “अरू बालीको तुलनामा माछाबाट आम्दानी बढी हुन्छ, तर विद्युत् महसुल महङ्गो हुँदा अन्यायमा प¥यौँ ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको मत्स्य विकास शाखाका निमत्त प्रमुख अधिकारीले भारतीय माछा आयातमा सरकारले प्रतिबन्ध लगाएर राम्रो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय माछाका कारण स्वदेशी माछाको बजारमा समस्या थियो, अहिले किसानलाई बजारको अभाव पनि छैन, जिल्लावासीले स्वस्थ र ताजा माछा खान पाउनुभएको छ ।”

उहाँले जिल्लामा व्यक्तिगत रुपमा किसानले माछापालन गरिरहेको बताउनुभयो । जिल्लाका सामुदायिक वन क्षेत्रका सिमसार क्षेत्रमा समेत माछाका भूरा छाड्नका लागि केन्द्रले प्रेरित गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार झापामा २०७४÷७५ देखि मात्र माछापालन व्यावसायिक रुपमा सुरु भएको हो । सुरुमा किसानलाई माछापालनमा आकर्षित गर्न सरकारले ‘फिस मिसन’ कार्यक्रम सुरु गरेको थियो ।

फिस मिसन कार्यक्रमलाई सिमसार क्षेत्रमा विस्तार गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यसपछि मात्र किसान प्रोत्साहित भए, माछा पाल्ने जिल्लामा लहर जस्तै आयो, अहिले माछापोखरी नभएको कुनै पालिका नै छैन ।” उहाँले किसानलाई अझै पनि राम्रो दाना उद्योग नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार भारतीय दानाको भरमा किसानले माछापालन गरिरहेका छन् । जिल्लामा प्रधानमन्त्री परियोजनाअन्तर्गत ४९ माछा फार्म रहेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.