Share Icon

२१ असार,मान्म । कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो ।

उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा रहेका कृषिको अवस्था, किसान पहिचान र प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यक रणनीति तयार गर्न कृषि गुरुयोजना निर्माण गरेर ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न थालिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “नगरपालिकाभित्रको भू–बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू–उपयोग क्षेत्र वर्गीकरणका आधारमा कृषिमा आधुनिकीकरण र आधुनिक तरिकाले उत्पादन वृद्धि गर्ने नीति लिएका छौँ”, उहाँले भन्नुभयो, “खाद्यान्न, फलफूल र तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत जातको बीउ, आवश्यक स्रोत र सीप प्रदान गर्ने व्यवस्था गरिनेछ ।”

फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर एक बगैँचा’ अभियानलाई सञ्चालन र यसका लागि किसानलाई आवश्यक प्राविधिक आर्थिक सहयोग प्रदान गर्न कार्याविधि बनाउने तयारी गरिएको नगर प्रमुख उपाध्यायले बताउनुभयो । “यहाँ स्याउ र ओखर धेरैै उत्पादन हुने भएकाले कृषकले उत्पादन गरेका वस्तुको संरक्षण र भण्डारण गर्न शीत गृह निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्र उत्पादन हुने रैथाने प्राङ्गारिक बाली जस्तै स्याउ, ओखर, सिमी, मार्सी चामल, चिनु, कागुनु, जौ, मकै आदिलाई कृषकबाट नगरपालिकाले खरिद गरी बजारीकरणका लागि सुनिश्चित गर्ने तयारी थालेका छौँ ।”

‘एक घर पाँच फलफूलका बिरुवा’ कार्यक्रम लागू गरिएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । ‘एक घर, एक बगैँचा कार्यक्रममा त छँदैछ । त्योसँगै एक घर, पाँच फलफूलका बिरुवा कार्यक्रम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार विकास र वातावरणबीच सन्तुलन कायम राख्न नगरपालिकाको लगानीमा हुने भौतिक पूर्वाधार निर्माणमा अनिवार्यरुपमा विरुवा रोप्नुपर्ने नीति बनाएका छौँ ।”

Facebook Comments Box

Share Icon