Share Icon

२५ जेठ,काठमाडौँ  । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भारतले अखण्ड भारत भन्ने नक्शामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद डा बिमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो,“लामो खडेरी र बढ्दो तापक्रमले तराईको जनजीवन अस्तव्यस्त भएको,यसबाट विद्यालय, कार्यालय बन्द रहेको र अस्पतालमा बिरामी बढिरहेका छन् । सरकारले सम्भावित जोखिमबारे जनचेतनाको साथै राहत र उद्धारको कामलाई कसरी व्यवस्थित गर्दैछ यसको जानकारी गराउनु पर्छ ।”

सांसद भैरवसुन्दर श्रेष्ठले हालै भारतले अखण्ड भारत नामक नक्शामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको र यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो “ नक्शाबारे नेपाल सरकारले भारतसरकारसँग स्पष्ट जवाफ माग गर्नुपर्छ ।”

सांसद नरपति लुहारले फुकोट हाइड्रोपावर सम्बन्धीको सम्झौता कर्णालीवासी मात्रै नभएर नेपालको हितमा नरहेको जनाउँदै उक्त सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी सांसद प्रकाश पन्थले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरागण्ड विस्तारको क्रममा स्थानीय र पैदलयात्रुले निकै सास्ती र दुःख भोग्नुपरेको, बर्खायाम सुरु भएकाले समयमै सम्भावित विपद् जोखिम व्यवस्थापन तयारी थाल्न सरकारसंग माग गर्नुभयो ।

सांसद महेशकुमार महराले विसं २०७७ साउनमा परेको अभिरल वर्षाले डडेलधुराको आलिताल गाउँपालिकाको बलौचाँमा पहिरोमा पुरिएर ४२ घरधुरी नष्ट भएको र परिवार विस्थापित भएको तथा पीडित परिवारले अहिले पनि राहत नपाएको बताउनुभयो ।

सांसद रामचन्द्र राईले हेटौँडा सिमेन्ट उद्योगका सेवा निवृत्त कर्मचारीको रुकम एक वर्षदेखि व्यवस्था नभएको जनाउँदै रकम भुक्तानी दिलाउन उद्योग मन्त्रालयले पहल गर्नुपर्छ भन्नुभयो । अर्का सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक हेलम्बुदेखि काठमाडौँ पुग्ने साँखु–जर्सिङपौवा सडक कालोपत्र बाँकी सडक स्तरोन्नती हुन नसकेको र बर्खायामको समयमा यात्रु र सर्वसाधरणले निकै सास्ती बेहोर्नुपरेको हुँदा काम चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।

Facebook Comments Box

Share Icon