कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

Share Icon

२४ जेठ,देउखुरी  । दाङ, गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ ।

घोराही– ६ का श्रीधर अधिकारीले बिदाको सदुपयोग गर्नका लागि परिवारसँग घुम्न कुलपानी आएको बताउनुभयो । “आफ्नै गाउँठाउँमा रहेका पर्यटकीयस्थल हेरौँ भनेर गाउँका दाजुहरूसँग यहाँ घुम्न आएको हुँ”, उहाँले भन्नुभयो ।

अधिकारीले पार्कमा बनाइएका बाघ, घोडा, गैँडा, जरायो, गरुड र मयुरका प्रतिमा निकै आकर्षक रहेको जनाउँदै सो ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको बताउनुभयो ।

घोराही–१५ का शरद आचार्यले पहिलो पटक कुलपानी पुगेको बताउँदै यहाँ बनेका संरचनाले पर्यटकलाई आकर्षण गर्ने धारणा राख्नुभयो । काठको ‘भ्युटावर’मा चढेर वरिपरीको वातावरण नियाल्दा रमाइलो लागेको उहाँको भनाइ थियो । “प्रति व्यक्ति रू १० को टिकट लाग्ने रहेछ”, उहाँले भन्नुभयो, “खर्च कम लाग्ने, स्थानीयस्तरमा भएका रमणीय गन्तव्य घुम्न पाइने र यसबाट थोरै भए पनि आम्दानी हुने पक्ष राम्रो लाग्यो ।”

आचार्यका अनुसार कुलपानीमा पर्यटकलाई आकर्षक गराउनका लागि काठको पुल, भ्युटार, देउखुरी क्षेत्रमा पहिले प्रयोग गरिने काठको लडिया, डुङ्गा, काठको कोल, ढिकीलगायत परम्परागत रूपमा प्रयोग गरिएका सामग्रीलाई संरक्षण गरिएको छ । उहाँले यस्ता लोप हुने अवस्थामा पुगेका सामाग्रीको संरक्षण गरेर पर्यटक भित्राउन मद्दन पुगेको बताउनुभयो ।

धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि पोखरी निर्माण गरी डुङ्गाको व्यवस्था गरिएको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले बताउनुभयो । आन्तरिक पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्यका रूपमा कुलपानी क्षेत्रलाई विकास गरिएको उहाँको भनाइ थियो ।

“बाह्र हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रका रूपमा रहेको उक्त पार्कको विकासका लागि प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०निर्माण गरिरहेको छ”, अध्यक्ष शर्माले भन्नुभयो । बाल उद्यान, वनभोज केन्द्र तथा पोखरीलाई व्यवस्थित गर्न तारबार लगाउने गरी डिपिआर निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै आन्तरिक पर्यटनको विकास गरी आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यले पार्कलाई थप व्यवस्थित बनाउने पहल भइरहेको अध्यक्ष शर्माले बताउनुभयो । “अहिले भइरहेको कामले कुलपानीमा पर्यटनको चहलपहल झन बढ्ने छ । यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवरद्धनमा टेवा पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शर्माका अनुसार यहाँ जिल्ला भित्र र बाहिरका गरी दैनिक चार सय बढी पर्यटक घुम्ने आउने गरेका छन् । शनिबार र बिदाको दिनमा यो सङ्ख्या अझ बढ्ने उहाँको भनाइ थियो ।

डिभिजन वन कार्यालयका प्रमुख बेसिन्द्रराज सुवेदीले यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले रहेको बताउनुभयो । वनको संरक्षण पनि हुने र पर्यटकलाई मनोरञ्जन हुने भएकाले यसको विकास गरिएको उहाँले बताउनुभयो । प्रमुख सुवेदीका अनुसार पार्कभित्र रू आठ लाखमा ताल निर्माण गरी डुङ्गा सञ्चालन गरिएको छ भने वनभोजका लागि आउने पर्यटकका लागि वनभोजस्थल निर्माण गरिएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.