Share Icon

२२ जेठ,  काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सोमबार प्रतिनिधि सभाको बैठकमा उनले हालै गरेको भारत भ्रमणमा भएका कुराकानीबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतसँगको सीमा विवाद समाधान गर्न बंगलादेश मोडल अपनाउन सकिनेबारे कुरा गरेको भन्दै जवाफ मागेको छ।

भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए।

यस विषय कुरामात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

उक्त अभिव्यक्तिलाई लिएर एमालेले आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री प्रचण्डले आज स्पष्ट पार्न लागेको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

‘सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ, प्रधानमन्त्रीले आज स्पष्ट पार्नुहुन्छ,’ गजुरेलले सेतोपाटीसँग भने।

सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि अग्रसरता लिएका छन्। प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलले सदन अवरूद्ध गरेपछि सदनबाटै प्रधानमन्त्री र सभामुखबीच कुराकानी भएको घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

‘सदनको अवरोध हटाउने विषयमा सभामुखले सबैसँग कुराकानी गर्नुभएको छ, अवरूद्ध हुनेबित्तिकै त्यहीँबाट उहाँले प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो,’ उनले सेतोपाटीसँग भने, ‘नागरिकता विधेयकका विषयमा आइतबार साँझ अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि पनि कुराकानी भयो। प्रधानमन्त्रीले आज सदनमा बोल्छु भन्नुभएको छ।’

ल्अभिि
सभामुखसँगको टेलिफोन सम्वादमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग पनि कुराकानी गर्ने बताएकाले आजको अवरोध हट्ने सम्भावना रहेको अधिकारीले बताए।

सदन खुलाउने विषयमा एमाले पनि सकारात्मक रहेको स्रोतले जानकारी दियो।

‘नागरिकता विधेयक प्रमाणीकरणका विषयमा अदालतले नै अल्पकालीन अन्तरिम आदेश दिइहाल्यो। हामी सही रहेछौं भन्ने अदालतबाटै प्रमाणित भयो। भारत भ्रमणका क्रममा उठेका विषयमा प्रधानमन्त्रीले बोलेपछि सदन नियमित कामकारबाहीमा अघि बढ्ने अवस्था आउँछ,’ एमाले स्रोतले भन्यो।

आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची थियो।

अथमन्त्री प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो।

तर, एमालेलगायत विपक्षी दलहरूको अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएन।

एमालेले नागरिकता, रेशम चौधरीको आममाफी र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा लिम्पियाधुरा–लिपुलेक बंगलादेशको बन्दरगाहसम्म पुग्ने पहुँचमार्गका लागि छाड्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै त्यसलाई विषय बनाएर उठेर विरोध जनायो।

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत मिसिए।

एक घन्टाका लागि भनेर स्थगित भएको आइतबारको संसद बैठक पछि बस्न सकेन। प्रतिपक्षी दलहरूसँग सहमति कायम हुन नसकेपछि बैठक सोमबार बिहान ११ बजेलाई तय गरिएको थियो।

आजको सम्भावित कार्यसूचीमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने छ।

त्यसका अतिरिक्त दोस्रो संविधान सभा सदस्य, राप्रपाका सांसद श्यामसुन्दर टिवडेवाल र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेतृ मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ।

Facebook Comments Box

Share Icon