पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन

Share Icon

१७ जेठ,गण्डकी ।
‘हिँड्नै पर्छ माथि र तल
चिन्नै पर्छ सुन हो कि पित्तल
खेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाई
देशको इज्जत स्वाभिमान फाल्नेलाई।।।’

मङ्गलबार पोखराको पृथ्वीचोकमा यसरी सुनिनुभयो, सर्जक नारायण बाँस्तोला । पशुपतिको जलहरीमा जडित धातुबारे संसद्सम्मै उठेको विवाद निरुपण हुनुपर्ने आशयको रचनासहित उहाँले आफूलाई प्रस्तुत गर्नुभयो । गीतिलयमा भ्रष्टाचारविरोधी सिर्जना सुनाउनुभएका उहाँले अघि थप्नुभयो–

‘हाँकौ अब बनेर एकैमन
भ्रष्टाचारविरोधी आन्दोलन
मेचीकाली उर्लेर आइदेऊ
भ्रष्टाचारी सबैलाई बगाइदेऊ।।।’

जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य बाँस्तालासहितका सर्जक र राजनीतिकर्मीले एकै मञ्चमा भ्रष्टाचारविरुद्ध आफूलाई उभ्याए । कास्कीस्थित नेकपा ९एकीकृत समाजवादी०को मोर्चा सङ्गठनले सुरु गरको भ्रष्टाचारविरुद्धको आन्दोलनमा उनीहरू जोडिएका हुन् ।

जनसांस्कृतिक महासङ्घ, कास्कीका अध्यक्ष राजेन्द्र पोखरेलले सबैखाले भ्रष्टाचारका फाइल खोल्न गीतमार्फत सरकारलाई आग्रह गर्नुभयो ।

‘हेर्नुहोस् त भ्रष्टाचार व्याप्त
हुन्न कारबाही कानुन छ पर्याप्त
लौलौ सरकार बोल
वाइडबडी, यती, ओम्नीका सबै फाइल खोल।।।’

सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा सर्जकले गीत र कविता सुनाएका थिए । विरोध प्रदर्शनपछि पृथ्वीचोकमा भएको कोणसभामा नेकपा ९एस० कास्कीका महिला विभाग प्रमुख शर्मिला पौडेलले आफ्नो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्ध सङ्घर्षमा होमिएको बताउनुभयो ।

“हाम्रो पार्टी भ्रष्टाचारीलाई प्रश्रय दिने पार्टी होइन, यदि हाम्रा कोही नेता भ्रष्टाचारमा मुछिएका छन् भने हामीले नै कारबारी गर्छौँ, प्रहरीमा लगेर बुझाउँछौँ”, उहाँले भन्नुभयो । नेतृ पौडेलले पार्टी र नेताले गलत गरे विरोध गर्ने तर सहेर नबस्ने बताउनुभयो ।

“हामी कसैका एसम्यान होइनौँ, हिजो पनि गलत चिजसँग विद्रोह गरेर आएका हौँ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई मुक्ति दिने प्रपञ्च गरिए त्यो हामीलाई स्वीकार्य छैन ।” उहाँले आफ्ना नेता अहिलेसम्म कुनै भ्रष्टाचारका मुद्दामा नजोडिएको दाबी गर्नुभयो ।

अनेरास्ववियू गण्डकी प्रदेशका अध्यक्ष ठाकुर पराजुलीले अहिलेको सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानमा आम नागरिकको साथ रहेको बताउनुभयो । उहाँले जुनसुकै तहको नेता भए पनि भ्रष्टाचारका मुद्दामा जोडिए अनुसन्धान र कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारले कसरी निरुपण गर्छ भनेर सबैले पर्खिरहेको अध्यक्ष पराजुलीले बताउनुभयो ।

“प्रधानमन्त्रीज्यू भ्रष्टाचारका मुद्दाको छानबिन र अनुसन्धानमा निर्मम भएर लाग्नुस्, तपाईँलाई सिङ्गै देशको साथ रहन्छ”, उहाँले भन्नुभयो । अध्यक्ष पराजुलीले भ्रष्टाचार र बेथितिको अन्त्य गर्दै सुशासनसहितको समृद्धि हासिल गर्न नसके देश पश्चगमनतिर फर्कन सक्ने खतरा रहेको औँल्याउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.