चिनियाँ नाकाबन्दीकाे मारमा मुगुवासी ?

Share Icon

काठमाडाैं । मुगुसँग जाेडिएकाे उत्तरी नाका अहिले पनि चीनले खाेलेकाे छैन । काेराेना महामारीकाे बहानामा चीनले झन्डै ४ वर्षदेखि नाक्चेनाङ्ला नाका अहलेसम्म खाेलेकाे छैन ।

कोरोनाका कारण तिब्बत र मुगुको व्यापारिक साइनो टुटेको छ । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका निवासी दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । उनीहरूलाई सदरमुकाम आउजाउ गर्न कम्तीमा ५ दिन लाग्छ । पहिला उनीहरू चिनियाँ खाद्यान्नमा निर्भर थिए ।

१७ बस्तीको पालिकामा अत्यधिक चिसो र सिँचाइ सुविधा नभएकाले वर्षभरि एक बाली उवा मात्र फल्छ । ‘आफ्नो उत्पादनले ३ महिना पनि खान पुग्दैन, घरबाट एक दिन टाढाको चिनियाँ नाका लामो समयदेखि बन्द छ,’ मुगुगाउँका सोनाम तामाङले भने, ‘नाका नखुल्दा एक बोरा चामल ल्याउन पनि ५ दिन हिँडेर गमगढी जानुपरेको छ ।’

लामो समयदेखि उत्तरी नाका बन्द हुँदा जडीबुटीदेखि स्थानीय उत्पादन उचित मूल्यमा बेच्न नपाएको स्थानीय तेन्जिङगुरु तामाङले गुनासो गरे । उनका अनुसार पहिले कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने कटुकी, वन लसुन, यार्चालगायत १८ प्रजातिको जडीबुटी तिब्बतमा निर्यात हुन्थ्यो । अहिले नाका बन्द हुँदा उक्त जडीबुटी स्थानीयले घोडा, खच्चडमार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा नेपालगन्ज हुँदै भारतसम्म पुर्‍याएर बेच्नुपर्ने बाध्यता छ ।

पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदा, चियालगायत सामान ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङवासीलाई अहिले दैनिक उपभोग्य सामग्री जुटाउन ठूलो सास्ती छ । ‘तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले साह्रै दुःख छ,’ चितै गाउँकी याङजुम तामाङले भनिन्, ‘चिनियाँ सामान सस्तोमा पाइन्थ्यो, एक दिनमा चिनियाँ नाकामा पुगिन्थ्यो, अहिले सदरमुकाममा महँगोमा सामान किनेर गाउँसम्म ढुवानी गर्दा दोब्बर बढी ढुवानी भाडा तिर्नुपर्छ ।’

गमगढीमा साल्ट ट्रेडिङ कर्पोरेसनले एक जनालाई एक दिनमा ५ किलो मात्र नुन बिक्री गर्छ । गमगढीमा ९ रुपैयाँ किलोमा पाइने नुन गाउँसम्म ढुवानी गर्दा कम्तीमा ७० रुपैयाँ भाडा तिर्नुपर्ने उनको भनाइ छ । सडक सुविधा नहुँदा घोडा/खच्चडबाट सामान ढुवानी हुने गरेको छ । गमगढीमा २५ केजीको एक बोरा चामलको मूल्य २ हजारदेखि २२ सय रुपैयाँ पर्छ । उक्त चामल मुगु, चितै, डोल्फुलगायत गाउँमा पुर्‍याउँदा ४ हजार, ४५ सय रुपैयाँसम्म पर्छ ।

तिब्बती नाका बन्द हुँदा कार्मारोङ गाउँपालिकामा गरिबी बढ्दै गएको जनप्रतिनिधिको भनाइ छ । पहिले गाउँको उत्पादित सिमी, स्याउ, उवालगायत जडीबुटी तिब्बतमा बिक्री हुन्थ्यो । अहिले ती सामान घरमै थन्किएका छन् । हिल्सा नाका खुलेपछि मुगुको नाका पनि खुल्ने आशा जागेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ ।

मुगुको उत्तरी नाका खुलाउन पहल गर्न परराष्ट्र मन्त्रालयसँग लिखित आग्रह गरिएको प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीले बताए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.