सन्दर्भः राष्ट्रिय पत्रकारिता दिवसः राजनीतिमा अस्थिरताले पत्रकारितालाई मर्यादित तुल्याउन चुनौती खडा गरेको छ : वरिष्ठ पत्रकार

Share Icon

२४ वैशाख, काठमाडौँ,। वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँहरूले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले ती समस्याको लामै समयसम्म सामाना गरिरहनुपर्ने देखिएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा रासससँग कुराकानी गर्दै वरिष्ठ पत्रकार खिलध्वज थापाले राजनीति र समाजसँगसँगै अहिले मुलुकको पत्रकारिताको प्रवृत्ति अघि बढिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “पञ्चायतकालीन पत्रकारिताबाट मेरो यो क्षेत्रमा प्रवेश भएकाले नियन्त्रित अवस्थामा पत्रकारिता क्षेत्रले स्वतन्त्र भएर काम गर्ने अवसर प्राप्त नभए पनि आफ्नो हैसियत र सीमाभित्र रहेर स्वतन्त्र पत्रकारितका लागि काम गर्ने कोसिस गरेँ ।”

तत्कालीन पञ्चायत व्यवस्थाका समयमा धेरैले व्यवस्थाका विरुद्ध मिसन पत्रकारिता गरेको घटना सुनाउँदै राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता थापाले प्रविधि र भौतिक सुविधाका हिसाबले अहिलेको नयाँपुस्ता भाग्यशाली भए पनि आर्थिक अभावले भोको पेटले काम गर्नुपर्ने चुनौती भने कायमै रहेको उल्लेख गर्नुभयो ।

गुगलको युग भएकाले संसारका सूचना क्षणभरमै लिन सकिने परिस्थिति बनेकाले मिडियाकर्मीका लागि अहिले सूचना पाइएन, दुर्गम र टाढा भन्ने शब्द नै हराएर गएको छ ।

अनुशासित र मर्यादित पत्रकारितका लागि आवश्यक प्रशिक्षण र न्यूनतम पारिश्रमिकका लागि आन्दोलन गर्नुपर्ने अवस्थाले कक्षाको पढाइ र समाचार कक्षको अभ्यासबीच तालमेल नखाएको अवस्था विद्यमान छ ।

गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक निर्मलकुमार आचार्यले विगतको तुलनामा व्यावसायिक, तटस्थ, विश्वासनीयरूपमा अघि बढाउने प्रयास भए पनि कोसिसहरू अपुग र अपर्याप्त भएको हुँदा पुराना कमी–कमजोरी नै पनि पूर्णरूपमा हट्न नसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यावसायिकताको हिसाबले मुलुकको पत्रकारिता क्षेत्र कखरामै छ, गति अघि बढ्न सकेको देखिन्न । पञ्चायतकालमा जोखिम भए पनि आफ्ना कुरा विभिन्न माध्यमबाट लेख्न सकिन्थ्यो । अहिलेको पत्रकारिता दलीय साँधुरो घेरामा बाँधिदै गएको र व्यावसायिक धर्म निर्वाहमा कमी भएको हो कि भन्ने महसुस हुन्छ ।”

देशको पत्रकारिता क्षेत्रमा नवीनतम् उपकरणको सहज पहुँच भए पनि गुणस्तरीय सामग्री प्रस्तुत गर्न तथा यस क्षेत्रको ओज, गरिमा कायम राख्ने सन्दर्भमा कमजोरी रहेको उहाँको टिप्पणी छ ।

कतिपय अवस्थामा व्यावसायिक मर्यादा र आचरण बाहिर गएर पत्रकारले डर, धम्की देखाउने गरेको घटना सुनाउँदै वरिष्ठ पत्रकार आचार्यले निष्पक्ष र तटस्थ पत्रकारितामा नलागेसम्म हामीमाथि औँला ठडिरहने बताउनुभयो ।

विगतमा पत्रकार र पत्रकारिता भनेपछि समाजले हेर्ने सम्मानित दृष्टिकोण रहेकामा त्यो लयमा फर्काउन यस क्षेत्रमा क्रियाशील सबैले चेतनामा सुधार ल्याउन आवश्यक रहेको सुझाव दिइएको छ । पत्रकारले सबै मुलुकमा सुशासन, लोकतन्त्र र विधिको शासनको पक्षमा लाग्नुपर्नेमा त्यो नसकेपछि साँघुरोपन बढ्दै गएर व्यावसायिक पत्रकारितामा आघात पु¥याएको यस क्षेत्रका अगुवाको भनाइ छ ।

पत्रकारिता क्षेत्रलाई व्यासायिक र मर्यादित तुल्याउनुपर्छ भनेर पछिल्ला समयमा भावना मुखरित हुन थाले पनि अझै पनि पाइला चालेको अनुभव गर्न नपाइएको टिप्पणी गरियो ।

वरिष्ठ पत्रकार विनोद ढुङ्गेलले पत्रकारितामा प्रवेश गर्दा छपाइमा लेटरको जमाना रहेकामा अहिले रङ्गीन एकैपटक धेरै तस्बिर र पत्रिका छाप्ने प्रविधिको मल्टिकलर छापाखानाको प्रयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो प्रवेशका समयमा छापा पत्रकारिता सशक्त रहेकामा अहिले प्राथमिकताका दृष्टिले अनलाइन प्रभावकारी देखिएको छ । त्यसबेला व्यावसायिक पत्रकारिताको विकास भइसकेको थिएन, आफ्नो रुचिमा यस क्षेत्रमा लाग्थेँ । अहिले भने पत्रकारिता नै गरेर बाँच्न सक्ने स्थिति भएको छ, प्रेस स्वतन्त्रता प्राप्त छ ।”

अहिले इन्टरनेटले ल्याएको क्रान्ति पत्रकारिता क्षेत्रले उपभोग गर्न पाइरहेको बताउँदै वरिष्ठ पत्रकार ढुङ्गेलले प्राविधिक, पेसागत, अवसर प्राप्त भए पनि चुनौती भने बढेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता अध्ययन र अध्यापनको वातावरण बढेको र सहज भए पनि पेसागत सुरक्षाको वातावरण अझै बन्न सकेको छैन । पत्रकारितका विभिन्न कोणबाट विगतको तुलनामा फरक आएको छ ।”

पत्रकारितको गुणस्तर तुलनात्मकरूपमा पहिलेको तुलनामा अहिले रहेको जिकिर गर्दै वरिष्ठ पत्रकार ढुङ्गेलले अहिलेको दुनियाँको पत्रकारिता जुन स्थानमा छ, त्यो हिसाबले पत्रकारितामा गुणस्तर थप्नुपर्ने स्थितिमा रहेको धारणा व्यक्त गर्नुभयो ।

‘कन्टेन्ट’को मात्र गुणस्तर नभएर काम गर्ने वातावरण स्तरीयता भएमा स्वतः यस क्षेत्रको गुणस्तरीयता वृद्धि हुने भएकाले बनेका कानुनको पूर्ण कार्यान्वयन र छापाखाना, प्रसारण ऐनलाई अद्यावधिक गरेर कानुन बनाउन उहाँले सुझाव दिनुभयो ।

सरकारले विगत केही वर्षदेखि वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । विसं १९५८ मा तत्कालीन प्रधानमन्त्री देवशम्शेरको कार्यकालमा गोरखापत्र प्रकाशन भएको दिनको स्मरण गर्दै सरकारले यस दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन लागेको हो ।

छिटो सूचना दर्शक, पाठक र स्रोतबीच पु¥याउने होडले सामाजिक सञ्जालले खडा गरेका चुनौतीको सामना गर्न गुणस्तरीयता वृद्धि गर्न आवश्यक रहेको जनाउँदै सञ्चारविज्ञले सामाजिक सञ्जालका समाचारको विश्वासनीयताको प्रश्न उठेकाले त्यसबाट पार पाउन जरुरी रहेको प्रतिक्रिया दिनुभएको छ ।

पत्रकारितामा पत्रकारले पत्रकारिता गरिरहन सक्ने पेसागत वातावरण बनिरहन नसक्ला कि भन्ने चुनौती रहेको उल्लेख गर्दै वरिष्ठ पत्रकारले भौतिक सुरक्षा र पेसागत सुरक्षाको वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकारिताको माध्यमबाट जनताको सेवा गरिरहन पाउन वातावरण नहुने हो कि भन्ने प्रश्न खडा गरेको बताउँदै उहाँहरूले यस क्षेत्रमा निष्ठाका साथ काम गर्ने व्यक्तिलाई टिकाइराख्न सक्नुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले आर्थिक र प्रतिष्ठाको हिसाबले अहिलेको तुलनामा विगतको पत्रकारिता निकै राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “अढाइ दशकअघि साप्ताहिकमा संवाददाताबाट पत्रकारिता सुरु गरेको हुँ । आर्थिक हिसाबले त्यही बेलाको सम्झना मीठो थियो । अहिले आफैँ पत्रिका निकाल्छु तर आर्थिक हिसाबले पनि चलाउन र धान्न सक्ने स्थिति छैन ।”

पत्रकारिताको आचारसंहिताभित्र रही व्यावसायिक र मर्यादित पत्रकारिता गर्दै आएकाले हालसम्म कसैले औँला ठड्याउने काम नगरेको बताउँदै वरिष्ठ पत्रकार शेखले ठूला सञ्चारमाध्यम नै पनि राजनीतिक दलविशेषबाट प्रभावित रहेकाले त्यसमा सुधारको खाँचो औँल्याउनुभयो ।
–––

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.