Share Icon

२४ वैशाख, राँझा । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो ।

नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उहाँलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिनुभयो ।

साइकलमै यात्रा गर्ने चमार नेपालगन्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो । नेपालगन्जमा साइकल लेन नहुँदा ठूला सवारीसाधनको ठक्करबाट दैनिकजसो साइकलयात्री दुर्घटनामा पर्ने गरेको उहाँको भनाइ छ ।

साइकल लेन नहुँदा सर्वसाधारण सडक दुर्घटनाबाट घाइते, अपाङ्गता तथा अकालमै मृत्युवरण गर्न बाध्य रहेको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताउनुभयो । “साइकल लेन नहुनु साइकलयात्रीको सुरक्षा सवालमा गम्भीर जोखिम हो, साइकल लेनको सवाललाई सरोकारवालाले बेलैमा बुझिदिए धेरैको ज्यान जोगिन सक्थ्यो”, उहाँले भन्नुभयो, “नेपालगन्जमा साइकल लेनका लागि क्लबको तर्फबाट निरन्तर प्रयास भए पनि सफल हुनसकेको छैन ।”

पछिल्लोपटक नेपालगन्जमा साइकलयात्रीको सङ्ख्या दैनिकरूपमा बढ्दै गए पनि साइकल लेन नहुँदा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको अध्यक्ष निरौलाले सुनाउनुभयो । नेपालगन्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा साइकल लेनको आवश्यकता रहेको बताउँदै साइकल लेन बनाउने कामको छिट्टै सुरुआत गर्ने बताउनुभयो ।

साइक्लिङमार्फत स्वस्थ जनशक्ति पैदा हुनुका साथै प्रदूषणरहित वातावरणका लागि पनि साइकल चलाउन जरुरी रहेकाले आगामी आर्थिक वर्षमा साइकल लेन बनाउन सरोकारवालासँग छलफल गरेर बजेट तर्जुमा गरिने उहाँको भनाइ छ । नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर वार्षिकरूपमा ‘मेयरकप साइकल दौड’ प्रतियोगितालगायतका गतिविधि गर्दै आएको छ ।

Facebook Comments Box

Share Icon