सोमबार साँझ उड्ने वित्तिकै आगो लागेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट उडेलगत्तै आगो लागेको उक्त विमानको एउटा इन्जिन फेल भएको बताइएको छ । विमानस्थलले उक्त विमान फोर्स ल्याण्डिङ गर्ने भनिए पनि पाइलटले उडान गन्तव्यतर्फ नै जारी गरेका थिए । कतिपयले भारतको नयाँ दिल्लीमा पुर्याउने भनेर अपुष्ट खवर सार्वजनिक गरेपनि उड्ने वित्तिकै ठूलो आवाजसहित आगो लागेको उक्त विमानलाई पाइलटले सुरक्षित रुपमा गन्तव्यमा पुर्याएका थिए ।
विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट चरा ठोक्किएको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ । यसअघि सोमबार साँझ फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास भेटिएको छैन । एउटा भँगेरो मृत भेटिएको र सो भँगेरा केही दिन अगाडि मरेर सुकिसकेको अवस्थामा रहेको उनले बताए ।
प्राधिकरणका अनुसार एफजेड५७६ जहाजका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो ।
पाइलटले जहाजलाई काठमाडौं अवतरण गराउन चाहेको अवस्थामा त्यसको तयारी गरिएको थियो । तर, पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए । यसबारे कम्पनीले प्राधिकरणलाई अब आफ्नोतर्फबाट रिर्पोटिङ गर्नेछ । त्यसपछि मात्र जहाजमा के भएको थियो भन्नेबारे खुल्ने प्राधिकरणको भनाइ छ ।