राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

Share Icon

७ वैशाख , काठमाडौँ ।   अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताउनुभएको हो ।

बैठकमा उहाँले भन्नुभयो, “नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व सङ्कलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व सङ्कलनको जिम्मा अर्थ मन्त्रालयको हो ।”

“विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम सङ्कलन हुन गएको हो । गतवर्ष सङ्कलन भएको राजस्वसँग अहिले सङ्कलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो” मन्त्री डा महतले भन्नुभयो ।

उहाँको यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर आफूले नभनेको र राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कुचन, केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको स्पष्ट पार्नुभयो ।

बैठकमा डा महतले भन्नुभयो, “तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्याङ्कन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।”

काठमाडौँ लगायत राज्यका विभिन्न स्थानमा राजस्व सङ्कलन गर्न स्थापित आन्तरिक राजस्व कार्यालयले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नु नहुने उहाँको भनाइ छ । बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

“झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम सङ्कलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्याङ्कलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ” उहाँले भन्नुभयो, “समस्या पहिचान हुनुप¥यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।”

“पछिल्लो समयमा ठूला व्यावसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौँ उपत्यकामा किन राजस्व सङ्कलनले लक्ष्यभन्दा कम उठ्छ रु” उहाँले प्रश्न गर्दै भन्नुभयो “भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो” यसलाई गम्भीररुपमा लिन म आग्रह गर्दछु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.