वीरगञ्जबाट अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिक पक्राउ

Share Icon

जनकपुरधाम । चीनबाट वीरगञ्ज आएर अनलाइन ठगीधन्दा चलाउने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगञ्ज महानगरपालिका १५ स्थित फ्ल्याट लिएर चिनियाँ नागरिकहरूले अनलाइन ठगीधन्दा चलाएको सूचना पाएपछि पर्सा प्रहरीले शनिवार साँझ छापा मारेको थियो । सो फ्ल्याटबाट दुई चिनियाँ पक्राउ परे । साथै सयौँ कम्प्युटरसहितका विभिन्न उपकरण पनि बरामद भयो । शनिवार राति नै थप एक चिनियाँलाई पक्राउ गरियो ।

पक्राउ परेका चिनियाँ र बरामद इलेक्ट्रोनिक उपकरण जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय लिलु गुई चाइ, २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छिङ झाव छन् ।

उनीहरू नन्दु पटेलको घर भाडामा लिएर अनलाइन ठगीधन्दाको अफिस चलाएका थिए । पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार उनीहरूले चलाएको अवैध अफिसबाट कम्प्युटर डेक्सटप सिपियू १२० थान, मनिटर ११८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, बाइफाई राउटर २ थान र मिनि इन्भर्टर २ थान बरामद भएको छ ।

पक्राउ परेका चिनियाँहरुले भारतीय मोबाइल सिम कार्ड प्रयोग गर्दै आएका थिए । उनीहरूबाट भारतीय जिओ सिम कार्ड १३ थान बरामद भएको डिएसपी थापाले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जाल र नम्बर मार्फत भारत, नेपालसहितका देशका नागरिकलाई ठगी गर्दै आएको खुलेको छ । थप अनुसन्धान हुँदैछ ।’

उनका अनुसार प्रिन्टर १ थान, विभिन्न बैंकहरूका एटिएम कार्ड ३ थान, भारतीय नम्बर प्लेट बिआर ०१ सिएक्स ५७९२ र प्र २-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल बरामद भएको छ । बिभिन्न देशका मुद्राहरू (मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका ४३ हजार र कम्बोडियन ३५ सय) समेत बरामद भएको छ ।

अनलाइन ठगीधन्दा चलाएका चिनियाँको नेपाली र भारतीय नागरिकसँग समेत संलग्नता रहेको प्रहरीको अनुमान छ । डिएसपी थापाले पत्रकार सम्मेलनमा भने, ‘भारतीय कम्पनीको सिम कार्ड र गाडी छ । त्यो कहाँबाट कसरी आयो ? पक्राउ परेका चिनियाँ नागरिकले यताको भाषा बुझ्दैन । तर यो ठाउँमा कसरी आए ? यो सबै विषयमा अनुसन्धान गरिरहेका छौँ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.