Share Icon

१३ भदौ,जानकी । निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवातजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताउनुभयो ।

“निकुञ्जभित्र स–साना खोलानाला छन् । वर्षामा खोला तार्न गस्ती सम्भव छैन”, उहाँले भन्नुभयो, “गस्तीका साथै अवलोकनमा आउनेलाई सहजताका लागि र निकुञ्जभित्र आगलागी वा केही विपद् भए तत्काल उद्दारका लागि २० वटा काठका पुल निर्माण गरिएका छन् ।”

संरक्षण अधिकृत शाहले उक्त पुल निर्माणका लागि निकुञ्जभित्रकै ढलका, पुराना काठ प्रयोग गरिएको बताउनुभयो । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो । निकुञ्जमा ‘फायर लाइन’ बनाउने क्रममा खोला तथा खहरेमा काठका पुल निर्माण गरिएको संरक्षण उहाँले जानकारी दिनुभयो ।

शाहका अनुसार निकुञ्जको चारै दिशामा काठका पुल बनाइएका छन् । आवश्यकता हेरि पुल थप गर्न सकिने उहाँको भनाइ थियो । “निकुञ्जभित्र बनाइएका उक्त पुल तर्दै नियमित गस्ती गर्नुका साथै विभिन्न सवारीसाधन प्रयोग गरी निकुञ्ज सफारी गर्ने गरिएको छ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box

Share Icon