पुख्र्यौली नाच पुस्तान्तरण अभियानमा मगर समुदाय

Share Icon

२८ चैत,गलेश्वर । पुख्र्यौली सांस्कृतिक सम्पत्तिको संरक्षणमा म्याग्दीका मगरसमुदायका युवायुवतीले रुचि देखाउन थालेपछि पाका पुस्ता खुसी हुन थालेका छन् ।

आर्थिक सम्पत्तिलाई मात्र महत्व दिने अहिलेको पुस्ताकाबीच म्याग्दीका मगरसमुदायका युवायुवतीले पुख्र्यौली सांस्कृतिक सम्पत्ति महत्वसाथ संरक्षणमा तत्पर भएपछि यहाँ पुख्र्यौली सीपको पुस्तान्तरण अभियान सुरु भएको छ ।

अठारौँ शताब्दीको मध्यतिर मगर र छन्त्याल समुदायले तामा, फलाम र सिसा खानी भएका ठाउँ नजिक बस्ती बसालेर खेतीपाती गर्न थालेपछि मगर र छन्त्याल संस्कृतिको सुरुवात भएको हो ।

यो समुदायका महिला पुरुष दिनभर शारीरिक श्रम गरेर साँझ परेपछि रोधी बस्ने, गीत गाउने, नाच्ने र रमाइलो गर्ने चलन नै पुख्र्यौली चलनका रुपमा स्थापित भयो ।

यानीमाया, सुनिमाया, कौडा, रोधी, मारुनी, थाली, सोरठी, सिरफूले सालै जो, अभिजाले माया, झ्याउरे र चुट्का जस्ता गीत र नृत्य पुख्र्यौली वने ।

जन्म, मृत्यु, विवाह, छेवार र गाउँमा हुने विशेषसभा समारोहमा परिवेशअनुसार पुख्र्यौली नाच देखाउने चलन विकसित हुँदै आयो ।
तर,२०४० देखि २०७० सम्मको तीन दशकसम्म पाश्चात्य संस्कृतिको प्रभाव र युवा पलायनका कारण ओझेलमा परेका यहाँकोे पुख्र्यौली नृत्यले विगत केही वर्ष यतादेखि गति लिन थालेको हो ।

पुख्र्याैली नृत्य मगर समुदायमा लोकप्रिय छ । यसलाई उनीहरू पहिचानका रूपमा लिन्छन् । पूर्खाले संरक्षण गरेको कलासंस्कृति र पहिचान जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् ।

यो नाच जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका ७९ वर्षीय तेजबहादुर पुर्जाले बताउनुभयो । उहाँले भन्नुभयो, “मगर समुदायको परम्परागत कला संस्कृतिको संरक्षणमा युवापुस्ता अघि सरेका छन् ।

परम्परागत मौलिक कला संस्कृति र सीप नयाँ पुस्तालाई सिकाउन पाका पुस्ता पनि तल्लीन छौंँ ।” पुख्र्यौली नृत्य र सोरठी गीत आजकल युवा पुस्ताले पनि सिको गरेका छन् ।

गाउँघरमा आउने पाहुनालाई पुख्र्यौली नृत्य देखाएर स्वागत गर्न युवाहरू अघि सर्छन् । सयौँ वर्ष पुरानो पुख्र्यौली नाच पुस्ता हस्तान्तरण हुँदै आएको मगर समुदायका अगुवा युवा लोकेश पुन मगरले बताउनुभयो ।

सोमबार (हिजो) अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा आयोजित अन्नपूर्ण गाउँपालिका अध्यक्ष कप प्रतियोगिताको उद्घाट्न कार्यक्रममा प्रदर्शन गरिएको पुख्र्यौली नृत्यले प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा (खम्वीर), गण्डकी प्रदेशका निवर्तमान मन्त्री एवम् सांसद रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी लगायतका अतिथिलाई मोहित बनायो ।

पुख्र्यौली संरक्षण र पुस्तान्तरणका लागि केही अगुवा खटेर लाग्नुभएको छ । अन्नपूर्ण गाउँपालिका –५ पाउद्वारका अगुवा राजु पुनले भन्नुभयो, “नयाँ पुस्तालाई नसिकाउँदा हाम्रो पहिचान नै मेटिने चिन्ता छ ।

त्यसैले आजकल युवा पुस्तालाई सँगसँगै राखेर पुख्र्यौली नाच नचाउने गरेका छौँ ।” मगर सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका लोकेश पुनले भन्नुभयो, “बेलाबखत युवालाई तालिम दिएर सीप सिकाउने गरेका छौँ”, पुनले भन्नुभयो, “पछिल्लो समय युवा पुस्तामा कला, संस्कृति र पहिचान संरक्षण गर्नुपर्छ भन्ने सचेतना जागेको छ ।”

मालिका गाउँपालिका ५ देविस्थानका ८१ वर्षीय घबहादुर बूढा आफु तन्नेरी हुँदा गाएको गीत र गरेको नुत्य अहिले नातिनातिनीबाट समेत सुन्न र देख्न पाउँदा खुसी लागेको बताउँनुहुन्छ । “युवाहरूको सक्रियतामा गाउँघरमा पुख्र्यौली नाचको संरक्षण हुन थालेको छ, यस्तो देख्न पाउँदा निकै आनन्द लाग्छ,” उहाँले भन्नुभयो ।

लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्गा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको दृश्य निकै रोचक हुन्छ । अझ मादलेसँगै जोडी भएर महिलाको पहिरनमा नाच्ने पुरुषले पुख्र्यौली नाचमा रौनकता थप्छन् ।

पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको पहिरनमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै, रोचक पक्ष र विशेषता भएकाले युवालाई पनि पुख्र्यौली जोगाउनुपर्छ भन्ने भावना जागेको राम्चेका रवि पुनले बताउनुभयो ।

यो नाच्न १२ पुरुष र सोरठी गाउन त्यतिकै सङ्ख्यामा महिलाको आवश्यकता पर्छ । युवालाई तालिम दिएर पुख्र्यौली नाच्न सिकाएपछि भने यसका लागि आवश्यक जनशक्ति पुग्न थालेको यसका अगुवा चमबहादुर पुनले भन्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.