अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ

Share Icon

६ चैत,काठमाडौँ । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको छ ।

विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्नुभयो ।

“अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन समितिका सभापति समेत रहनुभएका पन्थले भन्नुभयो, “अहिलेको समस्या ऐन कार्यान्वयन हो ।”

उहाँले दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्थाबारे छलफल गर्न सरोकारवालालाई आह्वानसमेत गर्नुभयो । “दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्था र चुनौती विषयमा छलफल र अन्तरक्रिया आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सरोकारवालाको सुझाव लिन आफूहरु तयार भएको भन्दै संसद् सचिवालयमै आएर छलफल गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका महिला उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गता भएका व्यक्तिका लागि सामूहिक वकालत जरुरी भएको बताउनुभयो ।

“हामी वर्षौदेखि अपाङ्गता भएका व्यक्तिप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले सामूहिकरुपमा एकअर्काका लागि वकालत गर्नुपर्छ ।”

समाजले विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा दुई दिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा समावेशी शिक्षा र जीविकोपार्जन विषय समेटिने समाजकी अध्यक्ष शिला थापाले बताउनुभयो ।

“हाम्रो उद्देश्य बौद्धिक अपाङ्गता तथा डाउन सिण्ड्रोम भएका व्यक्तिको समावेशी शिक्षा तथा जीविकोपार्जन क्षेत्रलाई सशक्त बनाउनु हो”, उहाँले भन्नुभयो, “दुई दिने गोष्ठी उहाँहरुको भविष्यलाई सुनिश्चित तथा आत्मनिर्भर बनाउनका लागि आवश्यक नीतिगत विषयमा केन्द्रित हुनेछ ।”

सामान्यतयाः मानिसको शरीरका कोषमा रहने ४६ वटा क्रोमोजोमहरु २३ वटा जोडीमा विभाजित हुन्छन् । तर डाउन सिण्ड्रोम भएको अवस्थामा २१औँ जोडीमा दुई वटाको सट्टा तीन वटा क्रोमोजोम हुन्छन् । जसलाई अङ्ग्रेजीमा ‘ट्राइसोमी २१’ पनि भनिन्छ ।

संयुक्त राष्ट्रसङ्घले मार्च २१ मा यो दिवस मनाउँदै आएको छ । यसवर्ष यो दिवस ‘हामीसँगै हौँं, हाम्रो लागि होइन’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.