पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी

Share Icon

२ चैत,लमजुङ । एतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो ।

नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगममन बढ्दो छ ।

स्थानीयवासी देवबहादुर गुरुङले भन्नुभयो, “सोही स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ । यतिबेला सो स्थानमा पर्यटकको आगमन बाक्लिएको छ ।

उहाँका अनुसार दैनिक १०० भन्दा बढी र बिदा तथा चाडपर्वको दिनमा दुई सयभन्दा बढी पर्यटक आउने गरेका छन् । यतिबेला सो स्तूपा तथा भ्यू टावर पर्यटकको मुख्य आकर्षणका रूपमा रहेको छ ।”

भ्यू टावरबाट काठमाडाँैको थानकोटडाँडा, चितवनको मुग्लिनमाथिको डाँडा, गोरखा, तनहुँ, कास्की, म्याग्दीलगायत जिल्लाको केही भाग देख्न सकिने स्थानीयवासी गुरुङ बताउनुहुन्छ ।

त्यस्तै, बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, मनास्लु, हिमालचुली, अन्नपूर्ण साउथ, मनास्लु दक्षिण, च्ये हिमाल, डाक्टर हर्कपिकसहित दर्जनाँै हिमशङ्खलाका साथै सूर्योदयको मनोमोहक दृश्यसमेत अवलोकन गर्न सकिने त्यहाँका बासिन्दा बताउँछन्

नवनिर्मित सो संरचना नजिकै त्यसबेलाका राजाले पूजा गर्ने मौला कालिका मन्दिरसमेत छ । पुरानोकोट गढी यतिबेला भग्नावेश अवस्थामा रहेको छ ।

शाह राजाको बसोबास रहेकाले यो स्थानको महत्व बढ्नाका साथै प्रचारप्रसार गर्न तथा पर्यटक आकर्षित गर्न स्तूपा तथा भ्यू टावर निर्माण गरिएको नगरप्रमुख गुमानसिंह अर्याल बताउनुहुन्छ ।

यहाँ उक्त संरचना निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्नाका साथै नगरपालिकाको आर्थिक बृृद्धिमासमेत सहयोग पुग्ने नगरप्रमुख अर्याल उल्लेख गर्नुहुन्छ ।

निर्माण कम्पनी हिम पराजुली कन्टक्सनले विसं २०७८ गत फागुन महिनाभित्र निर्माण सक्ने सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्यादमा अहिले निर्माणको अधिकांश काम सम्पन्न भइसकेको नगर प्रमुख अर्याल बताउनुहुन्छ ।

यहाँ पानी र बिजुलीको व्यवस्था गर्न बाँकी रहेको र अन्य काम सम्पन्न भइसकेको छ । ती संरचना निर्माणका लागि रु चार करोड ८१ लाखको लागत स्टमेन्ट गरिए पनि रु ५५ लाख कममा उक्त कम्पनीले निर्माण गर्ने सम्झौता गरेको थियो ।

नगरपालिकाका अनुसार रु एक करोड ४९ लाख नगरपालिका र रु दुई करोड ७७ लाख पर्यटन मन्त्रालयको गरी रु चार करोड २६ लाख बजेटमा शान्ति स्तूपासहितको भ्यूटावर निर्माण भएको छ । शान्ति स्तूपाको गजुर निर्माण एवं रङ्गरोगन गर्नाका साथै चार वटा बौद्धमूर्तिसमेत राखिएकोे छ ।

उक्त संरचनाको क्षेत्रफल दुई सय ८३ स्क्यायर मिटर रहेको बताइएको छ । सो स्तूपा तथा भ्यूटावरसम्मै पुग्नलाई रु २१ लाख खर्च गरेर नगरपालिकाले सडकसमेत निर्माण गरेको छ ।

बेँसीसहर बजारदेखि लमजुङ दरबार, गाउँले पानी घरवास हुँदै सो स्थानमा पुग्न सकिन्छ । बेँसीसहरबाट १६ किलोमिटरको दूरीमा भ्यूटावर रहेको छ । त्यस्तै भग्नावेश रानीको दरबार संरक्षण तथा मर्मतका लागि ३ नं वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको छ ।

यतिबेला स्तूपा वरिपरिको वनजङ्गलमा फुल्न थालेको लालिगुराँसले झनै स्तूपा तथा भ्यूटावरको सौन्दर्य बढाएको छ । स्तूपा आएका पर्यटकमध्ये बेलु गुरुङले भन्नुभयो, यहाँ आइपुग्दा धेरै रमाइलो लाग्यो, एकदम आनन्दको ठाउँ रहेछ, यस्ता संरचनाले पर्यटकलाई खुसी मिल्नेछ । यहाँ आउने पर्यटकले सबैतिर अवलोकन गर्नाका साथै, सेल्फी खिच्ने, फोटो खिच्ने, टिकटक बनाएर रमाउने गरेका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.