Share Icon

१३ कात्तिक, सुनसरी । ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइनका लागि नेपालको सबैभन्दा ठूलो सप्तकोशी नदी पार गर्न ११ वटा टावर निर्माण गरिएको छ । कोशीको भंगालोमा उच्च क्षमताकाे बिजुली प्रसारण हुने टावर निर्माण गरिएको हो ।

प्रसारणलाइनलाई कोसी नदी पार गराउन सुनसरी र उदयपुरमा पर्ने ११ टावरमध्ये अधिकांश नदीमा बनाइएको छ । एउटा टावरबाट अर्को टावरसम्मको दूरी औसतमा ६ सय मिटर छ । कोशीमा मात्रै करिब करिब ६ किलोमिटर प्रसारण लाइन पर्छ ।

नदीको सतह र जोखिमयुक्त ठाउाका आधारमा पानीमुनि १.२ मिटर व्यासको जगमा अधिकतम् ३२ मिटर अग्ला टावर खडा गरिएका छन् । आयोजनाका निर्देशक श्यामकुमार यादवका अनुसार सुरुमा त्यहाँ ७ वटा टावर रहने गरी डिजाइन गरिएको थियो । कहिले नदीले पूर्वतर्फ (सुनसरी) र कहिले पश्चिमतर्फ (उदयपुर)तर्फ कटाउन गर्दा टावरको सङ्ख्या बढेको हो ।

‘यो प्रसारण लाइनको सबैभन्दा जोखिमयुक्त र चुनौतीपूर्ण काम नै कोशीमा पाइल्स फाउण्डेसनमार्फत टावर खडा गर्नु थियो, नदी नाउमार्फत निर्माण सामाग्री ढुवानी गरी टावर बनाइएको थियो,’ आयोजनाका निर्देशक यादवले भने,’त्यहाँ तार तान्न पनि छिट्टै सुरु गर्दैछौं ।’

निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थाना भर्याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ ।

प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौँडा–ढल्केबर खण्डतर्फ चार किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रित गरिएको छ ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये ७५७ वटा टावरको जग हालिएको छ । ७५० वटा टावर खडा गरिएको छ । स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ वटा टावरको काम सुरु हुनसकेको छैन ।

प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले ठाउँ ठाउँमा अवरोध गर्दा तार तान्ने कामसमेत प्रभावित छ । ढल्केबर–इनरुवा खण्डमा अहिले तार तान्ने काम भइरहेको छ । पुसभित्र काम सक्ने गरी पाँच वटा टोली परिचालन गरिएको छ । प्रसारण लाइन मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर र सुनसरी गरी १० जिल्लामा पर्दछ ।

प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण प्रभावित भइरहेको प्राधिकरणले जनाएको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ को माघमा ठेक्का सम्झौता भएको थियो ।

हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गधिकार क्षेत्र प्रसारण लाइनको केन्द्रबिन्दुबाट दायाँबायाँ २३/२३ मिटर हुनेछ ।

आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रुख काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नुपर्नेछ । मार्गधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् ।

Facebook Comments Box

Share Icon