पशुपालनबाट आत्मनिर्भर बन्दै कृषक

Share Icon

१५ वैशाख , हेटौँडा ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गर्नुभएको छ ।

सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिकरुपमा गाईपालन गर्दै आउनुभएको हो ।

अहिले घाँस नपाउने समयमा पनि प्रवीण र उहाँकी श्रीमती रमाले नौवटा गाई पाल्नुुभएको छ । गोठमा लस्करै गाई बाँधिएका छन् । गाईपालनबाट आम्दानी पनि राम्रै हुने गरेको छ । पछिल्लो समयमा ढुटो, चोकर, दाना, परालको मूल्य बढे पनि गाईको दूध बिक्रीबाट वार्षिक रु १३ लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

गाईलाई घाँस काट्ने, दाना पानी दिने, दूध दुहुने, सरसफाइलगायत सबै काम श्रीमान् श्रीमतीले भ्याउनुभएको छ । स्नाकोत्तर तहसम्मको पढाइ भए पनि आफ्नै मेहनतबाट खुसी मिलेको दङ्गाल बताउनुहुन्छ । भोर्लेमा बहुदेशीय कृषि तथा पशुपालन फार्म खोलेर उहाँहरुले गाईपालनको काम सुरु गर्नुभएको हो ।

आफ्नै गोठ नजिकको दुई बिघा बारीमा घाँस लगाएर त्यही घाँस गाईलाई खुवाउने गरिएको छ । बारीमा मकै र अरु अन्न बालीभन्दा पनि घाँस लगाउँदा बढी फाइदा पुग्ने गरेको दङ्गाल बताउनुहुन्छ ।

उत्पादित घाँस आफ्ना गाईलाई खुवाउनाका साथै घाँसको बीउ पनि बिक्री वितरण हुँदै आएको छ । वार्षिक रु दुई लाख ५० हजार बराबरको घाँसको बीउ पनि बिक्री हुुने गरेको छ । अहिलेको सुक्खा याममा समेत दैनिक ३० लिटर दूध नजिकैको सहकारीमा बिक्री हुँदै आएको छ ।

निकै मेहनती दङ्गाल दम्पतीलाई गाईपालनमा थप सहज होस् भनेर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्ले बहुदेशीय कृषि तथा पशुपालन फार्मलाई रु एक लाख अनुदान गत आर्थिक वर्षमा दिएको थियो ।

त्यो अनुदान रकमबाट पानी तान्ने पम्प र घाँस काट्ने उपकरण खरिद गरिएकाले धेरै सहज भएको कृषक दङ्गाल बताउनुहुन्छ । स्वदेशमा नै केही मिहेनत गरेर आयआर्जनमा जोडिनका लागि गाईपालन गर्ने युवालाई सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई जोड दिनुहुन्छ । हरेक क्षेत्रका युवालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले अनुदानका कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

यस परिषद्को सानो अनुदान रकमले पनि युवामा स्वदेशमा नै मेहनत गर्ने र आम्दानी गर्ने परिपाटीको विकास गर्न पनि सहयोग पुगेको उपाध्यक्ष चौलागाई उल्लेख गर्नुहुन्छ

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.