दुर्गम गाउँ खयरमारामा सडक कालोपत्र

Share Icon

१९ असार,जलेश्वर । बर्दिबास नगरपालिका–१० खयरमाराका सडक कालोपत्र गरिएका छन् । दलित समुदायको बाहुल्य रहेको सो गाउँ विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । पछिल्लो समय सो क्षेत्रमा विकास निर्माणका कामले गति लिएको स्थानीय कृष्णकुमार वाइबाले बताउनुभयो ।

विकासले नछोएको खयरमाराका सडक नगरपालिकाले कालोपत्र गरिदिएसँगै गाउँको मुहार नै फेरिएको स्थानीयवासी मीरा कोइरालाले बताउनुभयो । बर्दिबास नगरपालिकाको रु ७९ लाख ७१ हजार सात सय ४९ को लागतमा खयरमाराको विद्युत्चोकबाट भरत टोल जाने बाटो कालोपत्र गरिएसँगै आवागमनमा सहज भएको स्थानीयवासीको भनाइ छ । यसअघि जीर्ण सडककै कारण समयमै बर्दिबास अस्पतालमा बिरामीलाई पुर्याउन नसक्दा कतिपय रोगीको सडकमै ज्यान जाने गरेको जनाउँदै स्थानीय विकास थापाले अहिले सहरका सडकभन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयवासीमा उत्साह छाएको बताउनुभयो ।

स्थानीयवासी टङ्कमाया चौलागाईँले भन्नुभयो “यस गाउँमा राम्रो सडक बन्ला भन्ने लागेकै थिएन, सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिललो हुने समस्या हटेर गएको छ । कालोपत्रले वास्तवमै यस गाउँको मुहार फेरिएको र सबैलाई हर्षित तुल्याएको छ । ”

उहाँका अनुसार सडक कालोपत्र भएकै कारण गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन् । यात्रुवाहक बस गाउँमै आउन थालेका छन् । कालोपत्र सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । गाउँमा उत्पादन गरिएका तरकारी, आँप, उखुलगायतका बाली सहरी क्षेत्रका बजारमा बिक्री गर्न लैजान सहज भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्रीले सडक सञ्जाल विस्तारलाई नै बढी प्राथमिकता दिएकोे बताउनुभयो । नगरपालिकाले पालिकाभित्रको भित्री गाउँ माईस्थान, बिजलपुरा, खयरमारालगायतका गाउँभित्रका सडक सफा र चौडा बनाइएपछि स्थानीयवासी दङ्ग छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.