मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

Share Icon

७ वैशाख, झापा। झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो ।

सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ ।

अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धीकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डायलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् तर, बिरामीको बढ्दो चाप र डायलासिस सेवा केन्द्रको अभावका कारण कयौँले अतिआवश्यक परेका बेला सेवा पाउन सकिरहेका छैनन् ।

“डायलासिस गर्नै पर्ने अवस्थाका बिरामीले सेवा पाउन पालो कुर्नुपर्ने देखेपछि हामीले मिर्गौलाका बिरामीका लागि डायलासिस गर्न सहज सुविधा पुगोस् भनेर सेवा केन्द्रलाई विभिन्न जिल्लामा विस्तार गरेका हौँ”, हस्पिटलका अध्यक्ष पोखरेल भन्नुहुन्छ, “विशुद्ध मानवीय सेवाको भावनाले उपचारमा लगानी गरेका छौँ ।

यसमा नाफा र घाटाको कुनै मतलब राखेका छैनौँ ।” हस्पिटलले झापामा सबैभन्दा धेरै क्षमताको डायलासिस सेवा वर्षौंदेखि प्रदान गर्दै आएको छ । हस्पिटलका प्रमुख प्रशासक दीप पौडेलका अनुसार भद्रपुरमा १९ वटा डायलासिस मेसिन सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई हस्पिटलले सेवा प्रदान गरिरहेको छ ।

झापाकै दमकमा १०, सुनसरीको इटहरीमा १४ र सिराहाको लहानमा १६ वटा डायलासिस मेसिन जडान गरिएको छ । लहानको सेवा केन्द्रमा विरामीको चाप धान्न मुस्किल परेको कारण मेसिन थप्ने तयारी भइरहेको पौडेलले बताउनुभयो ।

महोत्तरीको बर्दिवासमा १०, रुपन्देहीको बुटवलमा १२ र काठमाडौँको नेपाल भारतमैत्री हस्पिटलमा १४ वटा डायलासिस मेसिन ओमसाई पाथीभरा हस्पिटलले जडान गरेको छ । भद्रपुरमा पहिल्यैदेखि सञ्चालनमा रहेको उपचार सेवा निःशुल्क उपलब्ध रहेको छ । नेपाल सरकारले नै त्यहाँ उपचार गर्ने बिरामीको सेवा शुल्क तिरिदिने व्यवस्था रहेको छ ।

हाल मिर्गौलाका ४३ महिलासहित एक सय ३१ बिरामीले भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलबाट नियमित डायलासिस उपचार सेवा पाइरहेको हस्पिटलका व्यवस्थापक मनोज दाहालले जानकारी दिनुभयो ।

“एउटा बिरामीलाई एकपटक डायलासिस गराउँदा चार घण्टा समय लाग्छ”, डायलासिस विभागको इञ्चार्जसमेत रहनुभएको व्यवस्थापक दाहालले भन्नुभयो, “जटिल अवस्थाका मिर्गौलाका बिरामीले हप्तामा तीन पटकसम्म निःशुल्क डायलासिस गरिरहनुभएको छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.