Share Icon

चितवन । तलब सुविधाबाट विपन्न परिवारका लागि स्वास्थ्य बीमा गरिदिएका छन्।

इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष रूद्रप्रसाद गिरीले ६१ परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन्। थप दस परिवारको बीमा गर्न लागेको उनले बताए।

२०७९ जेठ ९ गते शपथग्रहण गर्दा उनले विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिने र वृद्धवृद्धालाई घर–घरमा वृद्धभत्ता उपलब्ध गराउने वाचा गरेका थिए।

‘त्यही प्रतिबद्धताअनुरूप हाम्रो वडाले वृद्धभत्ता घर–घरमा लगेर बाँडिरहेको छ। विकट क्षेत्रमा म आफैं पुग्ने गरेको छु,’ उप्रेतीले भने, ‘स्वास्थ्य बीमाको प्रतिबद्धता पनि पुरा गर्दैछु।’

उनले गत जेठ ९ गतेदेखि असार मसान्तसम्म आफूलाई तलब र इन्धन सुविधाबापत प्राप्त भएको प्रतिमहिना २१ हजार ७९० रूपैयाँबाट स्वास्थ्य बीमा गरेको बताए।

कुल २ लाख ५१ हजार ४८० रूपैयाँबाट ७१ जनाको बीमा गर्ने लक्ष्य रहेको उनले बताए। स्वास्थ्य बीमाका लागि पाँच जना सदस्य रहको एक परिवारले ३ हजार ५०० रूपैयाँ बुझाउनुपर्छ।

‘हाम्रो वडामा त्यति पैसा बुझाउन नसक्ने परिवार धेरै छ। स्वास्थ्यमा समस्या उनीहरूलाई नै बढी देखिन्छ। सामान्य बिरामी हुँदा पनि उपचार गर्न सक्दैनन्,’ वडाध्यक्ष उप्रेतीले भने, ‘बीमा भयो भने उनीहरूले आफूसँग नगद नहुँदा पनि उपचार सेवा पाउँछन्।’

विपन्न, सुकुम्बासी, चेपाङ तथा दलित परिवारलाई स्वास्थ्य बीमामा सघाएको उनले बताए।

इच्छाकामना गाउँपालिकाले पनि विपन्न परिवारका लागि स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरेको छ। तर त्यो कार्यक्रमले सबै परिवारलाई समेट्न सकेको थिएन। उप्रेतीले गाउँपालिकाको कार्यक्रमबाट नसमेटिएका परिवारलाई बीमा गरिदिएको बताए।

‘मैले बीमा गरेको परिवारको नविकरण गाउँपालिकाबाट भयो भने ठिकै छ। भएन भने वडा कार्यालयबाट गर्ने कोसिस गर्छु। त्यताबाट पनि संभव भएन भने आफ्नै तलब, सुविधाबाट गरिदिने सोचेको छु,’ उप्रेतीले भने, ‘गाउँपालिका वा वडाबाट नवीकरण भएछ भने मेरो तलबले नयाँ परिवारलाई स्वास्थ्य बीमा गरिदिन्छु।’

गाउँपालिका, वडाको कार्यालयमा उपचारका लागि भनेर पैसा माग्न आउनेको संख्या धेरै देखेपछि उप्रेतीलाई सबैको स्वास्थ्य बीमा गरेमात्रै यो क्रमलाई रोक्न सकिने लागेको थियो।

‘अब त बीमा कार्ड लिएर उपचारका लागि अस्पताल जान्छन्। पैसा माग्न सरकारी कार्यालय धाउने क्रम रोकिन्छ,’ उनले भने, ‘वडा सदस्य र टोल विकास संस्थाका अध्यक्षहरूको सिफारिसका आधारमा बीमा गरेका छौं। सकेसम्म सबै टोलका विपन्न परिवारलाई सहभागी बनाउछौं।’

उक्त वडाको बेलडाँडा घर भएका रणबहादुर विकले स्वास्थ्य बीमाको कार्ड पाएपछि अब बिरामी हुँदा उपचार पाउने आशा पलाएको बताए।

‘सापटी मागेको पैसा बाटो खर्चमै सकिन्थ्यो। उपचार गर्न पैसा पुग्थेन,’ रणबहादुरले भने, ‘यो कार्ड लिएर गएपछि उपचारको खर्च लाग्दैन रहेछ। बिरामी पर्दा उपचार पाउने आशा पलायो।’

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले यस वर्ष दस प्रतिशत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेको बताए।

वडाध्यक्ष उप्रेतीले आफू सामाजिक सेवाका लागि जनप्रतिनिधि भएकाले सरकारबाट पाउने तलब, भत्ता सामाजिक सेवामै खर्च गर्ने बताए। उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको कुरिनटारमा होटल व्यवसाय छ।

उक्त वडाले पहाडी गाउँहरू लामीडाँडा, कुरिनभित्ता, सुराथोक, बेलडाँडा, सोतागाउँ, डाँडाबारीलगायतका ठाउँका वृद्धवृद्धाहरूलाई घरमै पुगेर वृद्धभत्ता वितरण गर्ने गरेको छ। बैंकका कर्मचारी, वडाध्यक्ष र वडा सचिवले घरमै पुगेर वृद्धभत्ता बाँड्ने गरेका छन्।

पहाडि क्षेत्रमा वृद्धभत्ता बुझ्ने एक सय जनाभन्दा बढी छन्।

‘उनीहरूलाई बजार झरेर बैंकमा लामो लाइन बसेर भत्ता निकाल्न सास्ती हुने गरेको थियो। हामी भत्ता बोकेर घर–घरमा पुग्न थालेपछि उनीहरूलाई सहज भएको छ,’ उनले भने।

वडाध्यक्ष उप्रेतीले एक वर्षको अवधिमा इच्छाकामना अस्पताल निर्माणको काम द्रुत गतिमा भइरहेको सडक ढलान तथा कालोपत्रेका कामहरू भइरहेको बताए।

इच्छाकामना गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ।

‘हामी सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्ने प्रयत्नमा पनि लागेका छौं। यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति ल्याएका छौं,’ उप्रेतीले भने, ‘अब यसलाई कसरी सफल बनाउने भनेर लागिपरेका छौं।’

गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजकसमेत रहेका उनले विकासका पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा पनि उत्तिकै ध्यान दिइरहेको बताए।

Facebook Comments Box

Share Icon